कोहलपुरमा रहेको एक उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु
बाँके । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेको गणपति प्लाइउड उद्योग प्रा।लि। मा कार्यरत एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ ।
फ्याक्ट्रीमा काम गरि रहेकै अवस्थामा करेन्ट लागेर कोहलपुर ७ लखनावारका ५० बर्षिया हर भजन थारूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । आइतबार साँझ ६ः ३० बजे करेन्ट लागेर घाइते भएका थारू लाई उपचार गर्न लैजाँदै गर्दा बाटैमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् ।
मृतकको शव हाल भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको मृतकका छोरा किस मोहन थारूले बताए । आइतबार साँझ नै हर भजनको मृत्यु भएको भएपनि सोमवार बिहान सम्म कम्पनी सञ्चालकहरू सम्पर्कमा समेत नआएको गुनासो छोरा किस मोहनले गरे । फ्याक्ट्रीले पर्याप्त सुरक्षा मापदण्ड नअपनाउँदा बाबुको मृत्यु भएको भन्दै छोरा किस मोहनले क्षतिपूर्तिको माग समेत गरेका छन् ।