वातावरणको स्वयम् विकास तथा व्यवस्थापन तालिम सम्पन्न
जेष्ठ ३१, सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.वीरेन्द्रनगर ८, सुर्खेतले आफ्ना कर्मचारीको लागि आयोजना गरेको स्वयम् विकास तथा व्यवस्थापन तालिम बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जेष्ठ २८ गतेदेखि शुरु भएको दुई दिने तालिम २ चरणमा गरेर संचालन भएको संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले जानकारी दिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले आफ्ना सदस्यहरुका साथै कर्मचारीहरुको लागि पनि समय–समयमा क्षमता अभिवृद्धि एवं सीप विकास सम्बन्धी तालिम गोष्ठी लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरेर अझ परिस्कृत एवं सफल संस्थाको रुपमा विकास गरी कर्णाली प्रदेशकै एक उत्कृष्ट सहकारी संस्थाको रुपमा पहिचान निर्माण गर्न समेत सफल भएको बताए ।
संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न सो तालिम कार्यक्रममा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहनुको साथै संस्थामा संलग्न करिब ८० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा पौरखी इस्टिच्यूट प्रा.लि., काठमाण्डौंका सहजकर्ताहरु प्रकाशकुमार पोख्रेल र सिर्जना कोइरालाले सहजीकरण गरेका थिए ।