पहिलो पटक मार्सी रोपिएको ‘गुरु फोक्टो’ मा रोपाइँ महोत्सव


जेठ ३१, जुम्ला । जुम्लामै पहिलो मार्सी धान फलेको लछालकृति पैकेलोको नामाकरण गरिएको खेत (गुरु फोक्टो) मा मङ्गलवार जिल्लाव्यापी दोस्रो रोपाइँ महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको हो । महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुतीसंगै उच्च पदस्थ व्यक्ति नै हली बाउसे, रोप्नेरी, बिगारे, बिउ फाल्ने, भिट्टा लगाउने कामदारका रुपमा रोपाइँमा खटिएका थिए । रोपाइँ सकिएपछि चोपाई गरिएको थियो । त्यसपश्चात् सयौँको सङ्ख्यामा हिलो खेलेर किसानलाई प्रेरणा हुने गरी रोपाइँ दिवस मनाइएको तातोपानी वडा नंं. ३ अध्यक्ष गोकर्ण रावलले बताए। स्थानीय सरकार आएपछि जुम्लामै पहिलो मार्सी फलेको गुरु फोक्टोमा २०७५ मा पहिलो रोपाई महोत्सव गरिएको थियो । कोरोना कारण विगतका वर्षमा हुन नसकेको महोत्सव यस वर्ष भएको हो ।

महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले गुरु फोक्टोलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्न यसको इतिहासबारे अभिलेख तयार गर्नुपर्ने बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलाँगाईले जुम्लामै पहिलो पटक मार्सीधान उत्पादन भएको खेत (गुरु फोक्टो)लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न, किसानलाई धान खेतीमा प्रेरित गर्न, ब्युटाक्लोर प्रयोगमा निषेध लगाउन रोपाइँ महोत्सव गरिएको बताए । पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले पहिलो पटक मार्सीधान फलेको गुरुफोक्टो, विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमज्युलोको प्रचारप्रसारका लागि साझा पहल गर्न जरुरी रहेको बताए ।

करिब १२ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा पहिलो पटक मार्सी धान रोपेको किंवदन्ती छ । किंवदन्तीअनुसार लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जङ्गलमा बेवारिसे अवस्थामा थिए । १२ सय वर्षअघि कुचे बुढा भन्ने व्यक्तिले जङ्गलमा रोइरहेको अवस्थामा पैकलो नामको बच्चालाई भेटेका थिए । उनलाई घरमा ल्याएर लालनपालन गरियो ।एकदिन पैकलो आफैँ गएर हाल धानका खेती रहेको लाछुज्यूलोको घना जङ्गलमा चन्दननाथ बाबाबाट बिउ ल्याएर परीक्षण गरेपछि सफल भयो । १२ सय वर्ष पहिले पैकेलोले एक्लै खनेर धान रोपेपछि ६ महिनाको अवधिमा मार्सीधान उत्पादन भएको बुढापाका सुनाउँछन् ।
पैकेलो एक महापुरुषका रुपमा तातोपानीको विकासमा जुटेपछि तत्कालीन सिंजा राज्यका शक्तिशाली राजा जालान्धर पैकलोलाई विभिन्न प्रलोभनमा पारी एकै राज्यमा दुई राजा नहुने भन्दै मारेको समेत इतिहास छ ।
स्वर्गीय लेखक रत्नाकर देवकोटाको पुस्तकमा पैकेलोले जुम्लामा अनिकाल नहोस् भन्दै घनाजंगल फाँडेर खेत बनाउने शक्ति दिएको र त्यसपछि मात्रै सबैले खेत बनाउँदै मार्सी रोप्ने गरेको उल्लेख छ । (रेडियो नेपाल)

