कृषि उत्पादनमा वृद्धि गर्न सल्यानमा माटो परीक्षण


सल्यान । सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ । एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नगरपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।
माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ ।

धानबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो संकलन गरी परीक्षण गरिएको कृषि विकास शाखाकी श्वेता राईले जानकारी दिए ।
उनका अनुसार १५ वटै वडाबाट संकलित २०८ मोटोको नमुना परीक्षण गर्दा ८० मा अम्लीय १११ वटामा तटस्थ र १७ मा क्षारीयपन भेटिएको छ । नगरभित्र कृषि जन्य वस्तुको उत्पादनलाई बढावा दिन र विद्यमान माटोको अवस्थाको विश्लेषण तथा सुधार गर्न माटो परीक्षण शिविर आयोजना गरिएको उनको भनाई छ ।
माटो परीक्षणका क्रममा अम्लीय भेटिएको माटोको सुधारका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिने समेतले राईले बताए । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लीयपना बढी हुने र खाद्य तत्त्व उत्पादनमा कमी हुँदै जाने उनको भनाई छ । रेडियो नेपाल

