कृषकहरूलाई बाख्रा वितरण
सल्यान । सल्यानका विभिन्न पालिकाहरूले कृषकहरूको जीवनस्तर उकास्न बाख्रा वितरण गरेका छन् । जिल्लालाई मासुमा आत्मनिर्भर बनाइ जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यका साथ पालिकाहरूले बाख्रा पकेट कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेका हुन ।
वार्षिक कार्यक्रम २०७९र०८० अनुसार १५ लाख लागतमा महिला बाख्रा पालन कृषक समूह वनगाड कुपिण्डे नगरपालिका ८ कौछेमा बाख्रा बोका हस्तान्तरण गरिएको पशु सेवा शाखा प्रमुख विना राम बुढाथोकीले जानकारी दिए । १५ लाख नगर सरकारको अनुदानमा ५० वटा बाख्रा खरी जातको, ५ वटा बोयर बोका, ९ वटा खोर वितरण गरिएको उनको भनाई छ । समूहका २५ जना सदस्यहरूलाई बाख्रा, बोका वितरण गरिएको छ भने कृषकको ५० प्रतिशत लागत साझेदारी समेत रहेको बुढाथोकीले बताए ।
यस्तै त्रिवेणी गाउँपालिकाले पनि ५० प्रतिशत अनुदानमा ३४ बाख्रा र २ बोका वितरण गरेको छ । किसानहरूको आर्थिक जीवनस्तर उकास्न बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए ।
कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सरकारले कृषकहरूका लागि सहज बाटो देखाउने बताए ।
नगरपालिकाबाट अहिले २ हप्तामा एक ट्रक खसी बाहिर जाने र त्यसलाई बिस्तारै दैनिक एक ट्रक पुर्याउने गरी सरकार लागिपरेको उनको भनाई छ । रेडियो नेपाल