भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम किशोर चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको हो ।
बासगढी नगरपालिका ६ बर्दियाका १४ वर्षीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतीको एकै पटक सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
१४ वर्षीया बालिका विगत ६ महिनादेखि चिउँडो सुन्निएको र तलका ४ वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपिडीमा उपचारका लागि आएकी थिईन् । त्यस्तै रुकुम पश्चिमकी२८ वर्षीया युवती घरको सिँढीबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्थामा अस्पताल आएकी थिइन् ।
उनीहरु दुवै जनाको सफलतापूर्वक शल्यक्रिया भएको अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले जानकारी दिए । डा.चौधरीको नेतृत्वमा भएको सर्जरीमा डा.निर्माण शाह, डा.प्रविन थापा, डा.नीशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य, डा.पारश पाण्डे लगायत नर्सिङ स्टाफहरूको सहभागिता थियो ।
यसअघि यो सेवा भेरीमा उपलब्ध नहुँदा बिरामीहरु निजी अस्पतालमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।
‘ओरल एण्ड म्याग्जिलो फेसियल सर्जरीमा खटिएको मेडिकल टिमले ‘पहिलो पटक भेरी अस्पतालमा म्याग्जिलो फेसियल सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईँले भने, ‘विशिष्टीकृत सेवा थप्दै गएका छौं । भेरीको सेवालाई हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो बनाउने हाम्रो प्रयास हो ।’