खजुरा सडकखण्ड अलपत्र पारेको भन्दै स्थानीयद्वारा बाटो अवरुद्ध
बाँके । लामो समयसम्म खजुराको सडक बनाउन ठेकेदारले हदै सम्मको लापरबाही गरेको भन्दै आज स्थानीयले सडक जाम गरेका छन् ।
एक हजार ८ सय मिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरी अलपत्र पारिएपछि बाँकेका खजुराका स्थानीय आन्दोलित हुँदै दुई घण्टा सडक जाम गरेका हुन ।
नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरूको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहीन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध पारेका हुन ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चार लेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्षदेखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् । ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ ।
बिहान ९ बजेदेखि सडकमा निस्केका खजुरावासीहरूले ११ बजेसम्म सडक अवरुद्ध पारेका थिए । यसअघि पनि पटकपटक आन्दोलित भएका खजुरावासीलाई एक दुई दिन काम गरे जस्तो गर्ने र फेरि बेपत्ता हुने ठेकेदारको प्रवृत्तिले आजित पारेपछि पुनः आन्दोलन गर्नुपरेको र यसैगरि अटेरी गरे अब खजुराका स्थानीय सडकमै उत्रिने स्थानीय युवा विकास सापकोटाले बताए ।