समाजवादी मोर्चा गठनको टुङ्गो नलाग्दै एमालेमा मिल्यो वामदेवको बार्गेनिङ

काठमाडौं । नेकपा माओवादी केन्द्र सहितको समाजवादी मोर्चा गठनको टुङ्गो नलाग्दै नेकपा एकता अभियान चलाएका वामदेव गौतमको नेकपा एमालेमा बार्गेनिङ मिलेको छ ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका गौतमले एक घन्टा लामो भेटमा आफू उत्साहित भएको भन्दै एमालेमै सक्रिय राजनीति गर्ने बताएका छन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक गरेसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए । गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।

समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।

सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

Translate »