प्रदेश आयुर्वेद अस्पतालमा लघु शंखप्रक्षालन एवं नेती कार्यक्रम शुरु
सुर्खेत । व्यस्त जीवनशैलीको तनाव कम गर्न होस् वा शारीरिक व्यायामको रुपमा आजकल धेरै मानिस योग गर्छन् । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले आइतबार नवौं अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्धामा शरीर शोधन क्रिया अन्तर्गत (लघु शंखप्रक्षालन एवं नेती) कार्यक्रम शुरु गरेको छ ।
अस्पतालले आयोजना गरेको शरीर शोधन क्रिया अन्तर्गत (लघु शंखप्रक्षालन एवं नेती) कार्यक्रममा व्यस्त जीवन विताउने पत्रकार र व्यवसायीहरुको सहभागिताले योग शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त सहयोगी रहेको पाईएको हो । तीन दिवसीय लघु शंखप्रक्षालन एवं नेती कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टरद्वय यादव उपाध्याय, विनिता तिवारी, बैद्य निरीक्षक दिपेन्द्र कँडेल, पतंञ्जली योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काको संयोजनमा गरिएको शरीर शोधन क्रिया अन्तर्गत (लघु शंखप्रक्षालन एवं नेती) कार्यक्रमबाट कब्जियतलगायत पेटको समस्या, पिनास, टाउको दुख्ने, निन्द्रा नलाग्ने, नाक बन्द भै रहने घाटीमा अवरोध जस्तो समस्या समाधान हुने विश्वास लिएको अस्पतालका निर्देशक डा.शंकर रिजालले बताए ।
उनले आजकलको व्यस्त जीवनशैलीमा मानिसहरुमा तनाव बढ्दै गईरहेकाले सबै प्रकारको शरीरका लागि योगाभ्यास लाभदायक रहेको जनाए । उनका अनुसार प्रत्येक दिन योगका केही सामान्य आसनहरु अभ्यास गरेमा पनि तनाव कम हुन्छ ।
आफ्नो स्वास्थ्यका प्रति मानिसहरुमा जागरुकता बढीरहँदा जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते सुर्खेतलगायत कर्णाली प्रदेशभरी विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रम रहेको अस्पतालका बैद्य निरीक्षक दिपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने गरेको अस्पतालका डा. यादव उपाध्यायले जानकारी दिए ।