कर्णाली प्रदेश बनाउनुमा मप विश्वविद्यायको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री शर्मा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको समग्र विकासँगै उन्नयनका लागि दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा तेह्रौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले प्रदेश सरकार विश्वविद्यालयसँग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने जनाए ।

‘कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ्य सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको छ,’ उनले भने, ‘यस पटकबाट कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमबाटै मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान तथा विकास कार्यक्रमका लागि सहयोग गर्ने कार्यलाई अहिलेको बजेटले सुनिश्चित गरिदिएको छ ।’
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले विश्वविद्यालयको एकीकृत भिजन एवं हालसम्म विश्वविद्यालयले गरेका प्रगती बारे मुख्यमन्त्री शर्मालाई जानकारी गराए । उनले विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादनका लागि विश्वविद्यालय योजनावद्ध तरिकाले अघि बढिरहेको बताए ।


कर्णाली प्रदेश सरकारले विश्वविद्यालयलाई गरेको सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गर्दे उपकुलपति सिंहले प्रदेश सरकार र विश्वविद्यालय वीचको समबन्धलाई थप प्रगाढ बनाईने जिकिर गरे । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. नारायणप्रसाद पौडेलले विश्वविद्यालयको प्रगति तथा उन्नयनमा स्थानीय नागरिकको भूमिका सर्वोपरी रहेको बताए ।

उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अनुसन्धान तथा अन्वेषणमा केन्द्रित हुन आवश्यक रहेको जनाए । कार्यक्रममा उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ पन्चदेव भट्टले विगत तीन वर्षको अवधिमा विश्वविद्यालयमा भएको रुपान्तरण सम्बन्धी डकुमेन्ट्री भिडियो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री शर्मा, उपकुलपति सिंह, रजिष्ट्रार पौडेलले केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए । कार्यक्रममा तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटका स्ववियु सभापति हिक्मतबहादुर सिंहले शुभकामना मन्तव्य राखेका थिए भने मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।


