जिप दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन
बाँके । जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको आज साँझ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंहको समेत मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका मन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँके लगिएको थियो । दुर्घटनाग्रस्त जिपका चालक धर्मराज जोशी र मन्त्री सिंहका अंगरक्षक प्रहरी सहायक हवल्दार दीपक भण्डारीको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।