जनजीविकासँग जोएिका विषयवस्तुमा केन्द्रित हुन सरकारलाई एमाले सचिव भट्टको आग्रह
सुर्खेत । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले देशमा प्राकृतिक प्रतिकुल मौसम शुरु भईसकेकाले जनताका जनजीविकासँग प्रत्यक्ष जोएिका विषयवस्तुमा सरकारलाई केन्द्रित हुन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्षायाम शुरु भएसँगै देशभर विभिन्न प्राकृतिकजन्य घटनाहरुको संख्या बढ्दै गईरहेकाले विपद् जोखिम व्यवस्थापन तथा पूर्व तयारीमा जुट्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले कर्णाली गरिब नभएको तर, नीतिगत निर्माण दबाबमा बल नपुगेकाले गरिब बनाईएको बताए । एमाले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै पहिलो पटक पत्रकारहरुसँग सात्क्षातकार गरेका भट्टले कर्णालीको भूगोलमा प्राप्त स्रोतसाधनको प्रयोगमा ल्याउने नीतीगत निर्माणमा जोड दिन आवश्यक रहेको औल्याए ।
एमाले विगतको नेकपाकै निरन्तरता भएको र पूर्वमाओवादीको सम्मानजनक उपस्थिति रहेको बताउँदै सचिव भट्टले एमालेसँग एकीकरण गर्न हाल समाजवादी मोर्चा बनेको दावी गरे ।
उनले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कमजोर हुँदै गएकाले समाजवादी मोर्चा बनाईएको टिप्पणी गरे । ‘एमाले मूलधारको कम्युनिष्ट हो । समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किने छ,’ उनले भने, ‘कम्युनिष्टहरु एकीकृत हुन मोर्चा बनाइएको हो । त्यो मोर्चा एमालेमा आउनेछ ।’
उनले नीति विधि र विधानलाई मान्ने पार्टी एमाले भएकाले एमालेमा भ्रष्टाचार भएको भए छानबिन गरी प्रमाणित भएमा कार्वाहीलाई अघि बढाउन आग्रह गरे । सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधार तर्फ नआएको बताउँदै उनले वितरणमुखी परम्परागत तरिकाले आएको बताए ।
कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले पनि वर्तमान गठबन्धन सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको गुनासो गरे । उनले कर्णालीमा यस वर्ष कुनैपनि उल्लेखनीय नयाँ आयोजना समावेश नगरिएको बताए ।
अध्यक्ष शाहले भौगोलिक विकटता र विकास सूचकांकका आधारमा कर्णालीले स्वतः प्राथमिकता पाउनुपर्नेमा उल्टै कटौती गरी कर्णालीमाथि घोर अन्याय गरेको आरोप लगाए ।