पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्स सफल अवतरण भएको छ ।

चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो ।

‘सिचुवान एयरलाइन्स’को एयरबस ए–३१९ विमान बुधबार बिहान ९ बजेर ६मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय ३५ जना यात्रुसहित आउने यो उडान चार्टर्ड उडान हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीसहितले चीनबाट आएको विमानलाई स्वागत गर्नु भएको थियो ।

आगामी शुक्रबार र शनिबार फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक लिएर विमान पोखरा आएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

Translate »