अदालत र सरकार भारतको गुलाम : बालेन्द्र शाह

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कानुन र अदालत नमान्ने बताएका छन् । सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेपछि शाहको यस्तो प्रतिक्रिया आएको हो ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ‚’ मेयर शाहले फेसबुकमा लेखेका छन्‚ ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए । प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो । इकान्तिपुर

Translate »