एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका संक्रमणमुक्त

नेपालगञ्ज । एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका संक्रमणमुक्त हुन थालेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी संक्रमणमुक्त हुन थालेका हुन् ।

रिता केसी (नाम परिवर्तन) एचआइभी संक्रमित छन् । उनका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी संक्रमण छ । तर, कान्छी छोरी भने संक्रमणमुक्त छन् । चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उनकी छोरी स्वस्थ जन्मिएकी हुन् ।

उनको छोरी मात्र होइन संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि संक्रमणमुक्त छन् । भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दै आएका संक्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी संक्रमणमुक्त छन् । चिकित्सकहरूको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका संक्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने गरेको छ ।

अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता संक्रमितबाट जन्मेका १८ महिना भन्दा कम उमेरका ५ जना शिशु पूर्ण स्वस्थ र संक्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ साल फागुनमा एआरटी सेवा सुरु भएको हो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५ सय ६० जना संक्रमित उपचारका लागि नियमित आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए ।

Translate »