कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सम्पन्न
सुर्खेत । कर्णालीमा असारको दोस्रो सातासम्म ३९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस वर्ष समयमै वर्षा नहुँदा खडेरीका कारण रोपाइँमा ढिलाइ भएको हो ।अघिल्ला वर्षहरुमा असार दोस्रो सातासम्म ७० प्रतिशत रोपाइँ हुने गरेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए। उनले कर्णाली प्रदेशमा असार दोस्रो सातासम्म ३९ दशमलव २५ प्रतिशत रोपाइँ सकिएको बताए।
उनका अनुसार सुर्खेतमा ५, दैलेखमा ७, जाजरकोटमा २०, रुकुममा ३२, सल्यानमा ३५, हिमाली जिल्ला डोल्पामा ७५, हुम्लामा ५७, मुगुमा ४०, जुम्लामा ८५, कालिकोटमा ३६ प्रतिशत रोपाइँ सकिएको छ ।
पछिल्ला केही वर्षदेखि कर्णालीमा खडेरीका कारण धान उत्पादनमा ह्रास आइरहेको छ । धानको उत्पादन घट्दा स्थानीय नागरिकहरू बजारको खाद्यान्न खरिद गर्न बाध्य छन् ।