मुगुमा खुल्दै सहुलियत फार्मेसी

असार १६, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । बिरामीले औषधि नपाएर सास्ती खेप्नुपर्ने र पाए पनि महँगोमा किन्नुपर्ने बाध्यता हटाउन नगरले सहुलियत फार्मेसी सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्लाको सदरमुकाम गमगढी बजारमा नगरपालिकाले दुईवटा सहुलियत दरमा औषधि बिक्री गर्ने गरी फार्मेसी सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले जिल्लाका नागरिकलाई सहज रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सदरमुकाम गमगढीको तल्लो र माथिल्लो बजारमा एकरएक वटा सहुलियत औषधि बिक्री गर्ने फार्मेसी खोल्न लागिएको जानकारी दिए ।

फार्मेसी भदौ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । फार्मेसीका लागि २० लाख रुपैयाँ छुट्याइएको उनले बताए । गत आर्थिक वर्षमा छायाँनाथ रारा नगरपालिकाले जिल्ला अस्पताल मुगुलाई औषधि खरिदमा अनुदान दिएको थियो । त्यसबाट प्रभावकारी सेवा नपाइएको भन्दै नगरले आफैँ फार्मेसी खोल्ने योजनामा पुगेको नगरप्रमुख भामले बताए ।

जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले सहुलियत फार्मेसी सञ्चालनमा आएपछी नगरबासीलाई मात्र औषधि खरिदमा सहज नभइ जिल्लाका आम सेवाग्राहीलाई सहजै मिल्नेछ । जिल्लाका औषधि व्यवसायबाट महङ्गो शुल्क तिरेर बिरामीलाई उपचार गराउन बाध्यता रहेको जिल्लाका सेवाग्राहीबाट गुनासो सुन्दै आएको मल्लको भनाइ छ । उक्त सहुलियत औषधि फार्मेसीले जिल्लाका नागरिकलाई सहजता मिल्ने देखिन्छ मल्लले भने । (गोरखापत्र अनलाइन)

Translate »