भेरीगंगाको एकीकृत प्रशासनिक भवन बन्दै

सुर्खेत । सुर्खेतका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गरिसकेका छन् । ७ बर्षदेखि भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको भेरीगंगा नगरपालिकाले स्थानीय तह निर्वाचन भएको दोस्रो कार्यकालमा आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेको हो ।

भेरीगंगाले करिब साढे सात करोड लागतमा अहिले तीन तले एकीकृत प्रशासनिक भवन निर्माण गर्न लागेको ईन्जिनियर मोतिलाल प्रसादले जानकारी दिए । उनले गएको बैशाखमा भवन निर्माणका लागि इन्द्रधनु अछाम निर्माण सेवासँग सम्झौंता भई २०८२ बैशाख भित्र कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य निर्धारण गरिएको बताए ।

उनका अनुसार निर्माण कम्पनीले कुनै बाधा अड्चन नआए तोकिएको समय अगाबै कार्य सम्पन्न गर्ने लक्ष्य सहित हालसम्म १० प्रतिशत निर्माण गरिसकेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको दोस्रो व्यापारिक केन्द्र भेरीगंगा नगरपालिकाले यत्रतत्र भाडाको घरबाट सेवा दिँदा सेवाग्राहीले हैरानी र सास्ती खेप्नु परिरहेको छ ।

नगरपालिकाले एकीकृत सेवा प्रवाह नगर्दा सेवाग्राहीलाई एउटै सेवा लिनका लागि दश ठाउँ दुगुर्नु पर्ने बाध्यता रहेको स्थानीय यामलाल कँडेलले बताए । एकीकृत भवन नहुँदा विषयगत शाखा तथा वडा कार्यालय सञ्चालनको लागि नगरपालिकाले अहिलेपनि मासिकरुपमै घर भाडा वापत ठूलो रकम खर्च गर्दै आईरहेको नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जनाए ।

यता भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले एकीकृत प्रशासनिक भवन नहुँदा अहिले सेवाग्राहीलाई सोचजस्तो सहज र सुलभ सेवा प्रवाहमा कठिनाई भईरहेको जनाए । उनले एकीकृत प्रशासनिक भवन निर्माण हुने वित्तिकै सेवाग्राहीलाई अहिले भन्दा सहज र सुलभ सेवा प्रवाह हुनेमा विश्वस्त रहेको बताए ।

Translate »