वैदेशिक रोजगारीमा ठगी आधाभन्दा बढी नेपालमै पीडित
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेमध्ये आधाभन्दा बढी नेपालमै पीडित हुने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल फोरमले एक वर्ष (आर्थिक वर्ष २०७९र८०)मा सेवा प्रदान गरेको तथ्यांकको विश्लेषणबाट यस्तो देखिएको हो ।
१ वर्षमा सेवा प्रदान गरिएका २ हजार ८८२ पीडितमध्ये ६० दशमलव ५२ प्रतिशत नेपालमै ठगीलगायत समस्यामा परेको फोरमका अधिवक्ता सुदीप देवकोटाले जानकारी दिए । रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक पुगेकामध्ये संयुक्त अरब इमिरेट्समा धेरै ठगीमा परेका छन् । त्यहाँ नमूना संकलन गरिएका संख्याको आधारमा १३ दशमलव १८ प्रतिशत समस्यामा परेको अध्ययनले देखाएको छ ।
त्यस्तै साउदी अरेबिया, मलेशिया, कुबेत, कतार, कम्बोडिया र अन्य गन्तव्य मुलुकमा क्रमशः १२ दशमलव १७, ६ दशमलव ४१, २ दशमलव ८३, २ दशमलव ६२, शून्य दशमलव ३५ र २ दशमलव १ प्रतिशत नेपाली ठगीलगायत समस्यामा परेका छन् ।
फोरमका सल्लाहकार तथा अधिवक्ता सोमप्रसाद लुइँटेलले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जान खोज्नेमध्ये धेरै नेपाली आफ्नै मुलुकमा ठगिने गरेकाले सरकारले विशेष योजना बनाएर पहलकदमी लिनुपर्ने बताए । पछिल्लो समयमा स्वदेशमा रोजगारी नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै ठगीमा पर्नेको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगारीको प्रलोभनमा परेर कतिपय युवायुवतीले पुख्र्योली सम्पत्ति समेत सकेका उदाहरण पाइन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै वर्षमा औसत २ हजार उजुरी पर्ने गरेका छन् । विभागका अधिकारीहरू कतिपय युवायुवतीले वैदेशिक रोजगारीको प्रलोभनमा परेर चिन्दै नचिनेका व्यक्तिलाई ठूलो रकम दिने गरेको बताउँछन् । चालू आर्थिक वर्षको ११ महीनामा (साउन–वैशाखसम्म) श्रम स्वीकृति लिएर ७ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । (आर्थिक अभियान)