कर्णाली राजमार्गमा अतिक्रमण गरी बनेका संरचना हटाउँदै

जुम्ला । सडक डिभिजन जुम्लाले अतिक्रमण बढ्न थालेपछि पुनः नियम विपरीत बनेका संरचना भत्काउने अभियान थालेको छ । दैखोला–जुम्ला खण्डको १०४ किमी क्षेत्रभित्र नियम विपरीत राजमार्ग अतिक्रमण गरी बनेका सबै संरचना ३५ दिनभित्र हटाउन सडक डिभिजनले सूचना जारी गरेको छ ।

दैखोलादेखि जुम्ला नाग्म, नाग्मदेखि जुम्ला, नाग्म–गमगडी, नाक्चेलाग्ना सडकखण्डको सीमाभित्र बनेका संरचना हटाउन थालिएको सडक डिभिजन जुम्लाका इन्जिनियर तथा सूचना अधिकारी चित्र चौलागाईंले बताए ।

उनले भने, ‘राजमार्ग अतिक्रमण गरी बनेका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेका छौ । सूचनाको अटेरी भएमा आफ्नै ढङ्गबाट अतिक्रमण हटाइने छ । भने राजमार्गलाई फराकिलो बनाइने छ ।’ सार्वजनिक सूचनाको अटेरी गरेमा सडक डिभिजनले अतिक्रमण गरी बनाइएका संरचना आफै भत्काउने छ । भत्काउन लाग्ने खर्च सार्वजनिक सडक ऐन २०३१ को दफा १८(३) अनुसार सम्बन्धित व्यक्तिले नै तिर्नु पर्ने छ ।

सडक अतिक्रमण हटाउन स्थानीय तह जिम्मेवार नहुँदा समस्या निम्तिएको हो । सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्ट भन्छन्,‘राजमार्ग सङ्घीय सरकारको मातहतमा भएपनि प्रयोग त स्थानीयले नै गर्छन् । सडक सुरक्षाका निम्ती पनि स्थानीयतहले केही लगानी गर्नुपर्छ । निर्माण स्तरबृद्धि गर्न हामी छौ ।’

जान्ने बुझ्नेहरूबाटै अतिक्रमण बढेको छ । सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न स्थानीय तहलाई समेत पत्राचार गरिएको प्रमुख विष्टले जानकारी दिए । स्थानीय तहले सम्झाउँदा पनि अतिक्रमण हटाउन नमानेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने तयारी छ । यद्यपि, सार्वजनिक सडक सुरक्षा, अतिक्रमण हटाउन कर्णालीका नागरिक देखि जनप्रतिनिधि सबै अनुदार छन् । रेडियो नेपाल

Translate »