कर्णालीको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको चौरतर्फी विकासका लागि आधुनिक प्राविधिक शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा सार्वजनिक शिक्षा सम्बन्धि’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले विज्ञान र प्रविधिसँग जोडेर विकासका लागि आउँदो आर्थिक वर्षमा प्रदेशका दश ओटै जिल्लामा एक/एक वटा नमूना विद्यालय निर्माण गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले मानव संसाधनको विकास नभई भौतिक संसाधनको विकास हुन नसक्ने भएकाले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको जिकिर गरे ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको आवश्यतामा आधारित शिक्षामा गरिने लगानी अनुसारको प्रतिफल सहजै प्राप्त गर्न सकिने जनाए ।

त्यस्तै पूर्व मन्त्री तथा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले गुणस्तरीय शिक्षाको विकासका लागि प्रदेश सरकारले आफ्नो बोली अनुसारको व्यवहार कार्यान्वयन गरेमा आफ्नो समर्थन रहने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले शिक्षा क्षेत्रमा गरिने लगानीको प्रतिफल ढिलोगरि प्राप्त हुने भएकाले धैर्यता साथ सबैको साथ, सहयोग आवश्यक रहेको औल्याए ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले गुणस्तरीय उच्च शिक्षाको गुणस्तर सुधार लागि विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण रहेको जनाए ।

यस्तै प्राध्यापक डा. विद्यानाथ कोइरालाले उच्च शिक्षाको गुणस्तर माथि उकास्न सरकार र समुदाय वीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्ले, बहुमुखि क्याम्पस सुर्खेतका प्रमुख माधबप्रसाद खनाललगायतले कर्णाली प्रदेशको शैक्षिक अवस्था, उच्च शिक्षाको सम्भावना, चुनौतिलगायतका बारेका कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रम आइतबारसम्म सञ्चालन हुने आयोजक सामाजिक विकास मन्त्रालयका उपसचिव विनोद आचार्यले जानकारी दिए ।

Translate »