सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु


काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको जानकारी दिए । बेनी प्रहरी चौकीबाट असईसहित २ जना दुर्घटनास्थल पुगिसकेको र जिल्लाबाट थप प्रहरी पठाइएको उनले बताए । उनले भने,‘जिल्लाबाट १२ जना नेपाल प्रहरी र ९ जना नेपाली सेनालाई पठाइएको छ । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ । एक जनाको पनि शवका टुक्रा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । उनले भने,‘बेनी प्रहरी चौकीले दिएको जानकारीअनुसार ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान भइसकेको छैन ।’ एक जना भने बेपत्ता रहेको उनले बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनास्थलमा रहेका सोलु दूधकुण्ड नगरपालिका–२ बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक(असई) निराजन बस्नेतले पनि दुर्घटना भएको पुष्टि गरे । ‘हामी दुर्घटनास्थलमा छौँ । हेलिकप्टर दुर्घटना भएको हो । थप जानकारी पछि गराउनेछौं,’ असई बस्नेतले भने । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।
हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो । इकान्तिपुर

