एमाले कर्णालीले २४ हजार बढी नेता कार्यकर्तालाई स्कूलसँग जोड्दै


सुर्खेत । नेकपा एमालेले आन्तरिक सुदृढिकरणका लागि कर्णालीका २४ हजार १ सय पार्टीका नेता तथा सदस्यलाई पार्टीको स्कूलसँग जोड्ने भएको छ ।
एमालेले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्य, १ सय ३५ प्रदेश कमिटी सदस्य, ५५ जना हरेक जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्य गरी ५५ जना, प्रत्येक पालिका स्तरका ७५ देखि ८० सदस्य, वडा कमिटीमा आवद्ध सदस्य र २३ वटै जनवर्गिय संगठनमा आवद्ध पदाधिकारी तथा सदस्यहरु गरेर २४ हजार बढी नेताकार्यकर्तालाई एक वर्षमा प्रदेश पार्टी स्कूल विभागमा जोड्ने योजना बनाएको हो ।
विभागले सुर्खेतमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमका क्रममा कार्य योजना पारित गर्दै एमाले कर्णालीले प्रदेशका दशवटै जिल्लाका पार्टीका नेता, जनप्रतिनिधि र पार्टी सदस्यहरुका लागि प्रशिक्षण प्रदान गर्ने गरी कार्य योजना निर्माण गरेको केन्द्रीय सदस्य तथा पार्टी स्कूल विभाग कर्णालीका केन्द्रीय समन्यवकर्ता विष्णु रिजालले जानकारी दिए ।
प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गरेर प्रशिक्षणमा सहभागि ५० जना पार्टीका नेताहरु समक्ष प्रदेश स्कूल विभागको वार्षिक कार्य योजना प्रस्तुत गर्दै केन्द्रीय सदस्य तथा प्रदेश स्कूल विभागका केन्द्रीय समन्वयकर्ता रिजालले पार्टी स्कूलको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीको पाँचौं बैठकपछि विशेष कार्ययोजना निर्माण गरी कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–७ अनुसार पार्टी अघि बढाउने नीति अनुसार कर्णालीको पार्टी स्कूल विभागले एक वर्षभित्रमा आधाभूत सिद्धान्त र बिचारका बारेमा प्रशिक्षित गर्न योजना पारित गरेको बताए ।
उनका अनुसार पार्टी स्कूलको उद्देश्य अनुरुप पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै रुपमा पार्टी स्कूलमा जोड्ने प्राथमिक, माध्यमिक र उच्चतह गरी तीन तहमा विभाजन गरेको छ ।
‘प्रदेशस्तरमा माध्यमिक र जिल्ला तथा पालिका तहमा प्राथमिक तहको पार्टी स्कूल सञ्चालन गरी पहिलो चरणमा कम्तीमा कमिटीमा आवद्ध सबैलाई पार्टी कक्षा प्रदान गरिनेछ,’ उनले भने, ‘त्यसका लागि प्रदेश र जिल्ला तहमा स्थायीरुपमा पार्टी स्कूल सञ्चालन गर्ने योजना अघि सारिएको छ ।’
केन्द्रीय सदस्यको छुट्टै कार्याशाला
पार्टीका सैद्धान्तिक, बैचारिक र राजनीतिक धारणाहरुमा एकरुप बुझाइ कायम गर्न कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको छुट्टै कार्यशालाको आयोजना एमाले कर्णालीले गर्ने भएको छ ।
पार्टी केन्द्रीय कमिटीको अपानि–७ बमोजिम प्रदेशका केन्द्रीय सदस्यहरुका लागि कार्याशाला आयोजना गरेर कर्णालीको समृद्धीका लागि पार्टीले उठाउनु पर्ने विषयमा एकरुपता कायम गर्न पनि उक्त कार्यशाला आयोजना गर्ने योजना अघि सारिएको रिजालले बताए ।
कार्यशालामा प्रत्येक केन्द्रीय सदस्यहरुलाई निश्चित विषयमा तयारी सहित पावर प्वइन्ट प्रस्तुत गर्न लगाउने र बाँकीले त्यसमा टिप्पणी गर्ने । केन्द्रीय सदस्यका कार्य पत्रहरुलाई समृद्ध बनाएर आधार सामग्रीका रुपमा निर्माण गर्ने उद्देश्य उक्त कार्यशालाको रहने उनको भनाइ छ ।
युवाका लागि विशेष कक्षा
नेकपा (एमाले) ले हरेक कमिटीमा आबद्ध युवाहरुलाई सैद्धान्तिक–बैचारिक रुपमा तयार गर्न विशेष प्रशिक्षणहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रशिक्षणमा कक्षा लिनु भन्दा युवाहरुले मन पराउने, सहभागिता जनाउने र उनीहरुको व्यक्तित्व विकास हुने प्यानल डिस्कसन, कार्यशाला, राउन्ड टेबल जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना एमालेले ल्याएको छ ।

जनप्रतिनिधिहरुका लागि कार्यशाला
एमालेले आफ्नो तर्फबाट तीनै तहका निर्वाचित पालिकाका पदाधिकारी तथा वडा अध्यक्षहरुका लागि पार्टीले लिएका नीति र विकासका एजेन्डामा आधारित भएर कार्यशाला आयोजना गर्ने भएको छ ।
पार्टीको नतेृत्वमा गठन भएको सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को दिर्घकालिन लक्ष्यलाई हरेक तहमा सफल पार्ने, पूर्वाधार निर्माण गर्ने योजना र रणनीतिका बारेमा छलफल गर्न र अवधारणा तय गर्ने प्रदेशबाट विभिन्न तहमा निर्वाचित जनप्रतिधिहरुका लागि प्रदेश र जिल्ला तहमा कार्यशालाको आयोजना गर्ने भएको छ ।
कर्णाली प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुखहरुको भेला र प्रशिक्षण सुर्खेतमा र वडा अध्यक्षहरुको भेला सम्बन्धित जिल्लामा गर्ने गरी एमाले कार्य योजना तयार गरेको छ ।
यस्ता छन् योजना
प्रदेश स्कूल विभागले आउँदो भदौं महिनाभित्र नेकपा (एमाले) कर्णाली प्रदेशको आधारभूत पुस्तिका प्रकाशन गन भएको छ । केन्द्रीय पार्टी स्कूलले पाठ्यक्रम, पाठ्य सामाग्री र प्रशिक्षक तयार गर्ने । पाठ्य सामग्रीको सहज उपलब्धताको लागि डिजिटल प्लेटफर्म प्रयोग गर्ने ।
प्रिन्टका अतिरिक्त अडियो/भिजुअल सामग्री निर्माणमा प्राथमिकता दिने । प्रदेशतहको स्कूलले मध्यम तहको नियमित प्रशिक्षण सञ्चालन गर्ने । प्रदेशको स्कूलसँग केन्द्रलाई जोड्न प्रत्येक प्रदेशमा एक÷एक जना केन्द्रीय सदस्य पार्टी स्कूल प्रतिनिधिको रुपमा खटाउने, जिल्लातहको स्कूलबाट आधारभूत तहको प्रशिक्षण नियमित रुपमा सञ्चालन गर्ने एमाले कर्णाली प्रदेश अध्यक्ष तथा प्रदेश स्कूल विभागका प्रमुख विनोदकुमार शाहले बताए ।
उनले केन्द्रीय कमिटीका सदस्यहरुको बुझाइमा एकरुपता ल्याउनका लागि पार्टी नीति तथा कार्यक्रमका अतिरिक्त राजनीतिक/वैचारिक विषयमा अन्तक्र्रिया आयोजना गरिने जनाए ।
‘प्रदेश र जिल्लामा पार्टी स्कूल विभाग गठन गर्ने, पूर्णता दिने र सक्रिय बनाउने निर्णय हामीले गरेका छौं,’ उनले भने, ‘प्रदेश स्कूल सञ्चालनका लागि उपयुक्त कक्षा कोठा (हल) खोजी र निर्धारण गर्ने, यसका लागि पार्टी कार्यालय, विभिन्न प्रतिष्ठान र गैरसरकारी संस्थाका संरचना प्रयोग गर्न आवश्यक पहल गर्ने नीति अबलम्वन गरेका छौं ।’
कर्णालीबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्यहरुका लागि कार्यशाला भदौमा आयोजना गर्ने, १ सय ३५ जना प्रदेश कमिटी सदस्यहरुका लागि असोज सम्म प्रदेश कमिटीका सदस्यहरुको प्रशिक्षणको आयोजना गर्ने, जिल्ला कमिटीका ५५ जना पदाधिकारी र सचिवालय सदस्यहरुका लागि कार्तिक महिनामा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
आउँदो मंसिरबाट पालिका र वडा स्तरको स्कूल सञ्चालन गर्ने र भदौंदेखि पार्टीका जनवर्गिय संगठनका पदाधिकारीहरुका लागि प्रशिक्षणको आयोजना गर्ने कार्य योजना एमाले प्रदेश कमिटीको स्कूल विभागले तय गरेको छ ।
पार्टीका पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुका लागि आधारभूत विषयहरु बुझाउने गरी एक दिने प्रशिक्षण आयोजना गर्ने योजना प्रदेश स्कूल विभागले तय गरेको छ ।
यसले प्रदेशमा भएका ७ सय १८ वटै वडामा भएका पार्टीका कमिटीहरु अबको एक वर्षमा पार्टीको बैचारिक नीति, पार्टीले समृद्ध नेपाल निर्माणमा अपनाएको रणनीतिका बारेमा प्रारम्भिक प्रशिक्षित पार्ने काम गर्नेछ ।

