कर्णालीमा प्रहरीको स्टिकर टाँस्ने अभियान शुरु

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले घर–घरमा प्रहरीको फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ शुरु गरेको छ । प्रहरीले आफ्नो सेवा प्रवाहलाई नागरिक मैत्री सहज र सुलभ बनाउन आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि प्रदेशका दशै जिल्लामा लागु हुने गरी फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ को शुभारम्भ गरेको हो ।

‘स्टिकर टाँस अभियान’ को शुभारभ कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले कर्णाली प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ अभियानले अपराधमा कमी आउनुका साथै नागरिकले छिटो छरितो न्याय पाउने विश्वास व्यक्त गरे । उनले प्रहरी हरेक नागरिकको साथी भएकाले नागरिकसँग राज्य छ भन्ने अनुभुति दिलाउन फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ निकै प्रसंशनिय कार्य भएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले फोन नम्बर सहितको स्टिकर टाँस अभियानले छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल पुगेर सहयोग पुग्ने विश्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले यो अभियानबाट प्रहरी र नागरिकको सम्बन्ध नजिक हुने र पीडितलाई तत्काल सहयोग पुग्ने धारणा राखिन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) भिमप्रसाद ढकालले शीघ्र खबर संकलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति, नागरिक मैत्री सेवाको अपरिहार्यतालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका ३ लाख ७१ हजार भन्दा बढि घरधुरिहरुमा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँसिने जानकारी दिए ।

उनले आफु असुरक्षित भएमा अथवा संकास्पद वस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा घर नजिकैको प्रहरीलाई खबर गर्नका लागि यो अभियान प्रभावकारी हुने बताए । उनका अनुसार तीन महिनासम्म सञ्चालन हुने स्टिकर अभियानमा तीन हजार प्रहरी मार्फत खटिने छन् । स्टिकर टाँस अभियान सफल बनाउन स्थानीय पालिकासँगै प्रदेश सरकार र प्रहरी एक आपसमा समन्वय तथा सहकार्य मार्फत अघि बढाईएको बताईएको छ ।

Translate »