चैते धानको सफल परीक्षण
सल्यान । सल्यानको कुमाखमा चैते ५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि कुमाख गाउँपालिका २ मा चैते धान लगाइएको थियो ।
धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानका हेमन्त रावतले जानकारी दिए । परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन वर्षे धानको भन्दा राम्रो उत्पादन भएको उनको भनाई छ ।
कुमाखमा प्रति हेक्टर ५ मेट्रिक टन धान उत्पादन भएको रावतको भनाई छ । उनले भने यहाँको हावापानी, नदी किनार, पर्याप्त सिचाई सुविधा, मौसम अनुकूल हुँदा अपेक्षाभन्दा राम्रो उत्पादन भयो ।
धान जोन कार्यक्रम भएको कुमाखमा पहिलो पटक चैते धानको परीक्षण सफल भएको कार्यालयले जनाएको छ ।
वर्षे धान भन्दा चैतमा लगाएको धानको उत्पादन राम्रो भएको जनमैत्री कृषक समूहका अध्यक्ष कुमारी बुढाथोकीले बताए। उनले भन्नु भयो हामीले वर्षामा मात्र धान लगाउँदै आइरहेका थियौँ तर चैतमा लगाएको धानले वर्षामा लगाएकोलाई पनि उत्पादनमा जित्दो रहेछ ।
कालीमाटी क्षेत्रका किसानले भने वषौंदेखि चैते धान लगाउँदै आइरहेका छन् । रेडियो नेपाल