जेष्ठ नागरिकलाई नि:शुल्क सेवा लिनै सकस : सम्मानपूर्वक सेवा दिन सरकारको आग्रह

डिलबहादुर खत्री/सुर्खेत । कर्णालीका जेष्ठ नागरिकले सरकारी अस्पतालबाट निःशुल्क उपचार सेवा लिन सकस हुने गरेको बताएका छन् । सरकारले जेष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि कर्णाली प्रदेशका विभिन्न अस्पतालले भने सरल सेवामा अंकुश लगाएको पाईएको हो । सरकारले दिने निःशुल्क उपचार सेवा आफूहरुले नपाउने गरेको अस्पताल आउने अधिकांश जेष्ठ नागरिकको गुनासो छ ।
जेष्ठ नागरिक, विपन्न, कैदीवन्दीलाई निःशुल्क उपचारका लागि अस्पतालमा बर्षेनी मन्त्रालयबाट रकम निकासा हुने गर्छ । तर लक्षित वर्गले भने निःशुल्क उपचार पाएका छैनन् । जेष्ठ नागरिकलाई निःशुल्क सेवा पाउनका लागि नागरिकता वा बृद्धभत्ता पाएको आवश्यक कागजपत्रलगायत पेश गर्नुपर्ने झंझटिलो व्यवस्थाका कारण झनै सास्ती खेप्नु परेको हो । आवश्यक कागजात ल्याउनुपर्ने भएपछि अधिकांश जेष्ठ नागरिकहरु निःशुल्क उपचार सेवाबाट बञ्चित हुँदै आएका छन् ।
अधिकांशलाई कागजपत्र ल्याउनुपर्ने नियम बारे थाहा नहुँदा समस्या भएको हो । ‘कागजपत्र चाहिन्छ भनेर थाहा पनि भएन,’ उपचारका लागि सुर्खेत स्थित प्रदेश अस्पताल आएकी एक जेष्ठ नागरिक ममता सिंहले भनिन्, ‘फेरि विरामी भाको बेला कागजपत्र बोक्ने मेसो हुँदैन ।’ पहिले सहज रुपमा सेवा पाएपनि अहिले झन्झट भएको उनको गुनासो छ । उनले भनिन् ‘गाउँबाट उपचार गर्न अस्पताल आयो अब नागरिकता चाहिन्छ भनेर फेरि गाउँ जान भएन, त्यो भन्दा शुल्क तिरेर उपचार गर्नु वेश ।’
त्यस्तै उपचारका लागि जेष्ठ नागरिकलाई लाइन बस्नुनपर्ने भएपनि टिकट काट्नेदेखि उपचार गराउनका लागि उनीहरु लाइनमा बस्नुपर्ने बाध्यता कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा रहेको पाईन्छ । त्यस्तै सरकारले उपलब्ध गराउने निःशुल्क औषधी पनि प्रायः नपाउने गरेको गुनासो विरामीहरुको छ ।
शुल्क औषधी वितरणका लागि अस्पताललाई सरकारले वर्षेनी लाखौं रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सरकारले ७० थरिका औषधी निःशुल्क उपलब्ध गराउने प्रावधान बनाएपनि बिरामीहरुले भने प्रायः नपाएको गुनासो गरेका छन् । प्रदेश अस्पताल आउने धेरैजसो सेवाग्राहीले निःशुल्क औषधी पाउने स्थान नै भेट्टाउन मुश्किल हुने गरेको बताउँछन् ।
सम्मान पूर्वक सेवा दिन आग्रह
सरकारले जेष्ठ नागरिकलाइे सम्मानपूर्वक सेवा दिन आग्रह गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सम्बन्धमा जेरियाट्रिक स्वास्थ्य सेवा मापदण्ड, २०७९ मा गरिएको व्यवस्था अनुरुप सेवा प्रदान गर्न सहज बनाउनुपर्ने मार्गदर्शन उल्लेख छ । मार्गदर्शन चिकित्सकहरुले ज्येष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्दा आदरपूर्वक, सम्मानपूर्वक व्यवहारसहित सेवा प्रवाह गर्ने, ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान गर्ने उल्लेख छ ।
मार्गदर्शन अनुसार अस्पतालमा पहिलो पटक सेवा लिन आउँदा बिरामीले नाम ठेगाना र उमेर खुल्ने परिचयपत्र वा प्रमाण कागजपत्र पेस गर्नुपर्छ । ज्येष्ठ नागरिकले बहिरङ्ग सेवाका लागि टिकट लिन छुट्टै लामको व्यवस्था गर्नुपर्ने र अस्पतालले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई आवश्यकता अनुसार बहिरङ्ग सेवा प्रदान गर्ने वा वार्डमा भर्ना गर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अवस्थामा बीमाबाट नै उपचार गर्न प्राथमिकता दिनुपर्नेछ । उपचारको क्रममा बीमाको रकम अपुग भएको अवस्थामा मात्र यस कार्यक्रमको रकम खर्च गर्नुपर्ने व्यवस्था छ । सम्बन्धित अस्पतालले मन्त्रालय एवम् प्रदेश मन्त्रालयबाट प्राप्त अनुदानको ३० प्रतिशत बजेट भौतिक पूर्वाधार निर्माण, शैया, औजार, उपकरण खरिदमा खर्च गर्न सक्ने छन् भने बाँकी ७० प्रतिशत बजेट अशक्त असहाय, ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्नेछ ।
ज्येरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन भइसकेका अस्पतालहरुले मन्त्रालयबाट प्राप्त सबै रकम अनुदान ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । मार्गदर्शनमा ५० शैयाभन्दा माथिका अस्पतालले ज्येष्ठ नागरिक बिरामीहरुलाई प्रभावकारी सेवा प्रदान गर्नको लागि छुट्टै बहिरङ्ग कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, एक सय शैयाभन्दा माथिका अस्पतालले ज्येष्ठ नागरिक बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न छुट्टै जेरियाट्रिक वार्डको व्यवस्था गर्नुपर्नेछ ।

कुन उमेरका जेष्ठ नागरिकलाई कति छुट ?
सरकारले उपलब्ध गराइएको ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा अस्पताल व्यवस्थापनले उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा मापदण्ड बनाई ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाहरूको दायरा बढाई स्वास्थ्य सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ ।
८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरुको दायरा बढाई स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ ।
८५ भन्दा माथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख गरिएको
सबै अस्पताललाई परिपत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालनमा रहेका अस्पतालको सेवा प्रवाहमा एकरूपता कायम गर्ने उद्देश्यले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शन २०८०/८१ ल्याएको छ ।
यसैवर्षको आर्थिक वर्षदेखि नै लागू गर्न सम्बन्धित सबै अस्पताललाई परिपत्र गरिरहेको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा निःशुल्क पाईने अस्पताल
कर्णालीमा जेरियाट्रिक शैया सञ्चालन हुने अस्पतालहरुमा दैलेख अस्पताल दैलेख, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जाजरकोट अस्पताल, जाजरकोट, हुम्ला अस्पताल हुम्ला रहेका छन् ।