कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित

सुर्खेत । कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ ।
प्रदेशसभाको दोस्रो अधिवेशनको सोमबार बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिएसँगै सभामा प्रस्ताव गरिएको उक्त विधेयक सर्वसम्मतिले पारित भयो । पारितपश्चात् सो विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ रूपान्तरण भएको सभामुख गुरुङले जनाईन् ।

त्यस्तै, प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गाबहादुर रावत र सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आर्थिक वर्ष २०७९र८० को समग्र विवरणसहितको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेको थिए।
त्यसैगरी, आज बसेको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कामको सिलसिलामा भारतको गढवालमा यही साउन ५ गते गुराँस गाउँपालिका–१ दैलेख छेप्की गाउँका एकाघरका तुलबहादुर र दलबहादुर ढेङ्गा मगर र छिमेकी पूर्णबहादुर तारामी विषालु च्याउ खाएर मृत्यु हुँदा घरपरिवारमा बिचल्ली भएको बारे सरकारको ध्यानाकर्षण गरे । मृतकहरूको काजक्रिया र उनीहरूका बालबालिकाको आवश्यक व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे।
सोही समयमा प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्ला तथा कर्णाली लागुऔषधले आक्रान्त बनेको बताउँदै त्यसकै दुष्परिणामका कारण यही साउन ५ गते जुम्लामा सात घर र एक ट्र्याक्टर जलाउने काम भएको बताए । प्रतिबन्ध नभएको तर लागुऔषध प्रयोगकर्ताहरूले सजिलै प्रयोग गर्नसक्ने औषधि प्रतिबन्ध लगाउन आग्रह गर्दै उनले यसको रोकथाम प्रहरीमा सीमित नराखी प्रदेश सरकारले नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिए । रासस