बैठक कार्यसूचीमा प्रवेश नै नगरी आजको प्रतिनिधिसभा स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बुधबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
एमालेका सांसदहरूले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने, गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।
यसअघि बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्ने सांसदहरूले सुन तस्करीलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकको सुरुमा समय लिएर बोल्दै सांसदहरुले सरकारका जिम्मेवार मन्त्री तथा उच्च अधिकारीहरूको संरक्षणमा सुन तस्करी भएको देखिएकोले नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरुको माग थियो ।
सांसदहरुले ई–सिग्रेट, मोटर पार्टस् लगायतका वस्तुको हवाई मार्गमार्फत अस्वाभाविक आयात भएको देखिएको र त्यसमा समेत सुन तस्करी भएको आशङ्का भएकोले सबैको एकमुष्ट छानविन गर्नु पर्ने भनाइ छ ।
सांसदहरूले सुन तस्करी प्रकरणको विश्वसनीय छानबिनका लागि उच्चस्तरीय छानविन समितिको गठन गर्न समेत माग गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक साउन १५ गते सोमबार दिउँसो १ः०० बजे बस्ने छ ।

