धमाधम विक्री हुँदै जुम्लाको काँचो स्याउ
जुम्ला । जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनको पहिलो सातादेखि नै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा पाक्दै नपाकेको स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत,नेपालगन्ज,बुटवल लगायतका बजारमा पुर्याइएको हो ।
जुम्लाको स्याउ भदौ दोस्रो साता भन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटक पटक निर्णय भएको छ । तर निर्णयको ठाडो उलङ्घन गर्दै किसान तथा व्यापारीको मिलेमतोमा काँचो स्याउ वर्षेनी बाहिरी बजारमा जाने गरेको छ ।
भदौ दोस्रो सातापछि मात्रै टिप्ने निर्णय भएपनि पछि मूल्य नपाइने चिन्ताले किसानहरुले पाक्दै नपाकेको स्याउ बेच्दै आएका छन् ।
शनिवार बिहान सुर्खेतमा काँचो हरियो,रङ्ग नै नभरिएको जुम्लाको स्याउ बेचिरहेकै अवस्थामा जुम्ला चन्दननाथका स्थानीय तथा कृषि प्राविधिक धर्मराज आर्चायले भेटाएका थिए । उनका अनुसार सुर्खेतको बसपार्क क्षेत्रमा रहेको (जिल्ला आइ.पि.एम फलफूल तथा तरकारी मण्डी) मा जुम्लाको काँचो स्याउ विक्री भईरहेकोे अवस्थामा भेटिएको हो ।
आफूले स्याउ कता कालिकोटको हो भनेर सोध्दा,मण्डी सञ्चालकले कालिकोटको नभई जुम्लाकै स्याउ आएको बताएको आर्चायको भनाई छ । तिला गाउँपालिका वडा नं. २ लर्मीगाउँ स्थायी घर भएका मण्डी सञ्चालक हस्त बहादुर रावतले स्याउ बेचिरहेका थिए । सुर्खेतका प्रत्येक मण्डी तथा चोकचोकमा मात्र नभई जुम्लाको स्याउ साउन पहिलो सातामै देशका विभिन्न जिल्लामा पुगिसकेको मण्डी सञ्चालक हस्त बहादुर रावत बताउछन । यद्यपि,आफूले बेचेको स्याउ असारमै पाक्ने चप्लेटी स्याउ रहेको उनको दाबी छ । मण्डी सञ्चालक रावत भन्छन्, ‘शुक्रबार राती मण्डी बन्द हुने बेलामा एकजना जुम्लाकै मान्छे आएर स्याउ राख्नुहोस् भनेपछि मैले करिब ६० कार्टुन जति स्याउ राखेको छु । उसले नेपालगञ्ज लाने कुरा गर्दै थियो । प्रतिकेजी १२० रुपैयाँमा स्याउ बेचिरहेको छु । यो भन्दा अघि साउन पहिलो हप्तामै ठुलो मात्रामा जुम्लाको स्याउ सुर्खेत लगायतका बजारमा पुगिसकेको छ ।’ उनले भने ।
जुम्लाबाट स्याउ ल्याउने मान्छे आफूले नचिनेको र असारमा पाक्ने चप्लेटी स्याउ हो भनेपछि आफूले किनेर बेचेको मण्डी सञ्चालक रावतको भनाई छ । तर उनको मण्डीमा विक्रीका लागि राखिएको स्याउ असारमा पाक्ने चप्लेटी नभई भदौमा पाक्ने रेड डेलिसियस स्याउ भएको कृषि प्राविधिकहरूको भनाइ छ ।
यतिखेर स्याउ बढीमा ४० प्रतिशत मात्रै परिपक्व भएको छ । अझै ६० प्रतिशत स्याउको विकास हुन बाँकी नै छ । रङ्ग तथा गुलियोपन समेत भरिएको छैन । पछि मूल्य नपाउने चिन्तामा किसानले स्याउ बजारमा पठाउँदा जुम्ली स्याउको पहिचान नै खतरामा परेको छ । किसानले क्षणिक नाफा भन्दा दीर्घकालीन असरलाई ख्याल गर्नुपर्नेमा कृषि विज्ञहरुको जोड छ ।
स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ । यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले जुम्लाको स्याउ बजारमा नगएको दाबी गरे । यद्यपि, लुकीछिपी किसानले पठाउन सक्ने कुरा भने उनले स्वीकार गरे । ‘किसानलाई स्याउ नटिप, नलेऊ भन्न मिल्दैन । पछि बिक्दैन,छोराछोरीको लुगाफाटो गर्नु पर्यो, पछि के तपाईँले किन्नु हुन्छ र भनेर प्रश्न गर्छन् । ठ्याक्कै स्याउ रोक्ने कानुन पनि छैन । किसानको उत्पादन किसानकैै स्वतन्त्रता छ । तर यसले पहिचानमा खतरा निम्त्याउँछ ।’उनले भने ।
सङ्कलन केन्द्रको अभाव,पछि उपयुक्त मूल्य नपाउने जस्ता समस्याले किसानहरू साउनमै स्याउ टिपेर विक्री गर्न बाध्य भएको धेरैको भनाई छ । स्याउ किसानलाई भदौ दोस्रो साताभन्दा अघि स्याउ नटिप,पछि मूल्य पाइन्छ,स्याउ सुरक्षित हुन्छ भनेर ढुक्क बनाउने कुनै संयन्त्र नहुँदा यस्तो भइरहेको धेरैको बुझाई छ ।
गत वर्ष जस्तै काँचो स्याउ टिप्न तथा बेच्न रोक्नका लागि जिल्लामा छलफल चलाइने कार्यालय प्रमुख अधिकारीको भनाई छ । काँचो स्याउ बजारमा छ्यापछ्याप्ती भएपछि भदौमा जाने परिपक्व स्याउले मूल्य नपाउने विगतकै समस्या यस वर्ष पनि दोहोरिने छ । तर वर्षेनी काँचो स्याउ विक्री हुँदा सरोकारवाला मूकदर्शक बन्ने गरेका छन् ।
गत वर्ष पनि साउन पहिलो सातामै जुम्लाको काँचो स्याउ बाहिरी जिल्लामा पुगेपछि जिल्लामा काँचो स्याउ नटिप्न गाउँगाउँमा किसान तथा सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो ।(रेडियो नेपाल)