दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र

काठमाडौं । एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजीर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको छ ।

गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले आज निरौलालाई मन्त्रालयमा हाजिर हुन् पत्र काटेको हो ।

मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने प्रमुख प्रशासकीय अधिकृत निरौलाको टिककट भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरबाटै अश्लील हर्कत बाहिरिएपछि उनको चौतर्फी विरोध सुरु भएको छ ।

यता समाचारपछि निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका थिए । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरे ।

Translate »