११ हजार सर्वसाधारण भूकम्पको उच्च जोखिममा

बाँके । नेपालगञ्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन् । उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नम्बर ३ र वडा नम्बर ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार आठ सयभन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन् ।

बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययन अनुसार पश्चिमको कुनै पनि क्षेत्रमा ८।६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जका तीन हजार घर ध्वस्त हुन सक्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका प्रमुख प्रशान्त विष्टले भूकम्पबाट हुन सक्ने क्षति रोक्न र कम गर्न सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनामार्फत विभिन्न कार्य भइरहेको बताएका छन् ।

उनले विपद् जोखिम बिमासम्बन्धी कार्यविधि–२०८० बनाएर जोखिमग्रस्त क्षेत्र आवास बिमा लागु गरिएको जनाउँदै यसरी यो कार्यविधि बनाउने र आवास बिमा लागु गर्ने नेपालगन्ज देशकै पहिलो स्थानीय तह भएको दाबी गरे । सो बिमा कार्यक्रम भूकम्पको अत्यधिक जोखिममा रहेको नेपालगन्जको वडा नम्बर ३ र ७ मा लागु गरिएको छ ।

उपमहानगरका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रिजालले दुई वटा वडाका पुरानो बस्ती र मापदण्डविपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेकाले उनीहरूको विपद् जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रम लागु गरिएको बताए। उनका अनुसार सो कार्यक्रम अन्तर्गत उपमहानगरले जोखिममा रहेका घरको १५ लाखको बिमाबापत लाग्ने प्रिमियम दिने र सोभन्दा बढीको बिमा गराउन चाहनेले प्रिमियम थपेर दिन सक्ने व्यवस्था मिलाइएको छ ।

सो बिमा कार्यक्रमले भूकम्प मात्र नभई आगलागी, बाढी डुबान, जमिन धसिने वा भासिने, हावाहुरी, चट्याङ र हवाई दुर्घटनाबाट भएको क्षतिमा पनि सुरक्षा प्रदान गर्ने छ ।

शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले उपमहानगरका जोखिममा रहेका वडामा विभिन्न तालिम दिनुका साथै सर्वेक्षण, नक्साङ्कनलगायतका काम गरिसकेको बताएका छन् । रेडियो नेपाल

Translate »