सतक रक्तदाता कर्माचार्यद्वारा १ सय ७५ औं पटक रक्तदान
बर्दिया । सतक रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ७५ औं पटक रक्तदान गरेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बुधबार आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा रक्तसम्राट कार्माचार्यले रक्तदान गरेसँगै १ सय ७५ औं पटक पुगेको हो ।
ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाले आयोजना गरेको नवौं बृहत् एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका कर्माचार्यसँगै कर्णालीका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रवाशकुमार शाक्यले ७९ औं पटक र समाजका बर्दिया जिल्लाका अध्यक्ष प्रेम लम्सालले ६५ औं पटक रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले सतक रक्तदाताको उपस्थितिमा जिल्ला कै बृहत महिला विषेश रक्तदान कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरव महसुस गरेका थिए ।
रक्तदान कार्यक्रममा ४४ जना महिलासहित २ सय ७ जनाले रक्तदान गरेको नगर उपप्रमुख विनाकुमारी भट्टराईले जानकारी दिईन् । नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बाँकेले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।