नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात हुने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालगञ्ज नाकाबाट ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको आलु आयात भएको छ  ।  गत आर्थिक वर्षमा यो नाकाबाट मात्र ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा १ अर्ब १० करोड ८३ लाख ५५ हजार रुपैयाँको आलु आयात भएको थियो  ।  त्यसबेला यो नाकाबाट ४ करोड ४० लाख ९८ हजार ६९४ किलो आलु आयात गरिएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँको आलु आयात घटे पनि अझै धेरै ठूलो परिमाणमा आलु भारतबाट आइरहेको देखिएको भन्सार कार्यालयले जनाएको छ  ।  आलु आयातबाट नेपालगञ्ज भन्सारले आर्थिक बर्ष २०७८/०७९ मा १५ करोड ६४ लाख ३८ हजार र गत आर्थिक बर्ष २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सकिल अहमदले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि अझै भारतकै आलुमा निर्भर रहनु दुःखद भएको बताउए  ।   उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठूलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।

केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आएर आलु बाहेक अन्य अधिकांश तरकारी नेपालमै ठूलो परिमाणमा उत्पादन भइरहेकोले अन्य तरकारीमा समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ  ।(रेडियो नेपाल)

Translate »