जुम्लाका ८० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा


जुम्ला । स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरू आएपनि बीमा गर्नेको सङ्ख्या भने वर्षेनी उल्लेखीय रुपमा वृद्धि हुँदै गएको छ ।
सेवामा आएको सुधार र नागरिकले राहत महसुस गरेसँगै स्वास्थ्य बीमामा नागरिकको पहुँच वृद्धि हुँदै गएको हो ।
जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको करिब ७ वर्षमा कुल जनसङ्ख्याको झण्डै ६७ प्रतिशत नागरिक बिमाको पहुँचका पुगेका छन् ।
शत प्रतिशत नागरिकलाई बीमाको पहुँचमा पुर्याउन तातोपानी, हिमा लगायतका गाउँपालिकाले विपन्न निःशुल्क बीमा गर्ने नीति ल्याएका छन् । अझै २३ प्रतिशत नागरिक बिमाको पहुँचभन्दा बाहिर रहेका छन् ।
स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा हालसम्म ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । २०७८ को जनगणना अनुसार जुम्लामा २० हजार घरधुरीसहित १ लाख २० हजार जनसङ्ख्या रहेको छ । जसमध्ये ८० हजार ४७३ जना बिमित हुँदा अझै ३९ हजार ५२७ जना नागरिक बिमाको पहुँच बाहिरै छन् ।
यद्यपि, आव २०७८÷०७९ मा जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बिमित थिए । एकै वर्षमा झण्डै १३ हजार बिमितको सङ्ख्या बढेको देखिन्छ । यो तथ्याङ्कले पनि स्वास्थ्य बीम प्रति नागरिकको आकर्षण बढ्दो छ ।
आठ स्थानीय तह रहेको जुम्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका १९ हजार ५०२ जना र सबैभन्दा कम सिञ्जा गाउँपालिकाका ५ हजार ४०२ जना बिमित भएका छन् ।
त्यस्तै, तातोपानी गाउँपालिकाका ११ हजार ६१७, तिलाका ८ हजार ३ सय ६७, हिमाका ११ हजार ४९३, कनकासुन्दरीका ६ हजार ७१ जना नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।
त्यस्तै पातारासी गाउँपालिकाका ११ हजार १३८ जना र गुठिचौरका ६ हजार ८८३ जना गरि हालसम्म जम्मा ८० हजार ४७३ जना नागरिक बिमाको पहुँच पुगेको स्वास्थ्य बीमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।

जसमध्ये जुम्लाका २० हजार घरधुरी मध्ये १६ हजार ५१६ घरधुरी बिमित छन् । भने ज्येष्ठ नागरिक दुई हजार ७४६ जना, अति गरिब तीन हजार ७३३, अति अपाङ्ग ६२ परिवार, टिभी लागेका दुई परिवार र महिला स्वास्थ्य स्वयंसेविका २१० जना स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।
आर्कषण बढ्दो सेवामा सास्ती
विगतका केही वर्षमा बीमाबारे गाउँ गाउँमा सचेतना फैलाउँदा पनि अपेक्षित नागरिक बीमाको पहुँचमा आउने गरेका थिएनन् । तर पछिल्लो समय बीमाको फाइदा बुझेपछि बीमाप्रति आकर्षण बढेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।
उनले भने, ‘हाम्रो प्रथम सेवा बिन्दु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । ठुलो स्वास्थ्य संस्था भएकै कारण पनि बीमाको पहुँच बढेको हो । शत प्रतिशत नागरिकलाई बीमाको पहुँच ल्याउने उद्देश्य छ ।’ बीमाप्रति आकर्षण बढ्नु सुखद् पक्ष भए पनि सेवामा सुधार ल्याउन जरुरी रहेको नागरिकको गुनासो छ ।
तिला गाउँपालिका–६ का जगत रोकाय भन्छन्, ‘बिमाको उपचारमा ढिलासुस्ती छ । बीमाबाट भने जति औषधी पाउँदैनौँ । तर पैसा हालेर किन्दा पाउँछौ । यस्ता विषयमा धेरै पटक गुनासो नआएको पनि हैन । तर सुनुवाई नहुँदा बीमाको सेवा अस्त व्यस्त छ । यसलाई सुधार गर्न जरुरी छ ।’
तातोपानीकी बेलु चनारा भन्छन्, ‘बीमाको लाइनमा सयौँको भिड हुन्छ, पैसा तिर्ने लाइन सकिन्छ । तर नाम दर्ता गर्ने कर्मचारीले बिमितको सहजै नाम दर्ता गर्न मान्दैनन् । बिमा अन्तर्गतको औषधी प्राय हुन्न । महत्त्वपूर्ण औषधी किन्नै पर्छ । आजभोलि सामान्य रिपोर्ट ल्याउन एकदिन बास बस्नुपर्ने रहेछ । सेवामा सुधार गर्न जरुरी छ ।’
स्वास्थ्य विमाको सेवाबारे धेरै पटक गुनासो आउने गरेकोले सुधारमा कर्णाली प्रतिष्ठानले ध्यान दिन जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनका अनुसार बिमितको सङ्ख्या थपिएसँगै सेवामा प्रभावकारिता थपिन पनि जरुरी छ । (रेडियो नेपाल)

