विद्यालयमा शौचालयको पर्खाल भत्किदा बालिकाको मृत्यु

बर्दिया । बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ। जिल्लाको बढैयाताल गाउँपालिका–७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो ।

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । बुधबार दिउँसो करिब पौने ३ बजे बालिका शौचालय गएकी थिइन् । महिला, पुरुष छुट्ट्याउन बनाइएको पर्खाल एक्कासी भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो ।

बाँकेको नेपालगञ्जको बाँकेस्थित भेरी अस्पतालमा उपचार भइरहेकी बालिकाको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले बताए ।

‘भौतिक पूर्वाधार अपर्याप्तता रहेको स्कूलहरूलाई अनुगमनका क्रममा भौतिक पूर्वाधार लगायतका कुराहरू सुधार्न पालिकाले पटक पटक सुझाव दिँदै आएका थियौ । घटनाले साह्रै दुःखी बनाएको छ’अब विद्यालयहरूलाई कडाईका साथ नियमन गर्ने उनको भनाइ छ।

दिवंगत वालिकाका ठूलो बुवा बिर बहादुर चौधरीले विद्यालयको लापरबाहीले बालिकाको ज्यान गएको बताएका छन् । ’भतिजीको पेटमा पर्खाल पल्टिएर ठूलै चोट लागेको रहेछ। स्कूलले घटना गुपचुप राख्ने प्रयास गर्‍यो, उनले भने ‘छरछिमेकीबाट अभिभावकले घटना थाहा पाएका थियौं। बालिकाको आन्द्रा तथा हिपको मांसपेसीहरु फुटेको थियो।’

अस्पतालमा अप्रेशनबाट आन्द्रा जोडेपनि बालिकाको होस नआएपछि चिकित्सकले मृत घोषणा गरेको चौधरीले बताए। पीडित परिवारलाई राहत तथा न्याय नदिएसम्म परिवारले बालिकाको शव अस्पतालबाट नउठाउने बताएका छन् ।

विद्यालयमा अचानक घटना भएको सहायक प्रधानाध्यापक सुजाता राईले बताइन् । पीडित परिवारलाई नियम अनुसारको क्षतिपूर्ति दिने राईको भनाइ छ। अन्नपूर्ण पोष्ट्)

Translate »