अझै हटेन यातायातको सिण्डिकेट : चौकुनेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा सहमति जुट्यो


सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेसम्म अब नियमित सार्वजनिक यातायातका सवारी साधन सुचारु गर्ने सहमति भएको छ । जिल्ला समन्वय समिति सुर्खेतको पहलमा आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलसहितको जिल्ला स्थित सरोकारवालाको बैठकले चौकुने गाउँपालिकाको लगामसम्म नियमित सार्वजनिक यातायातका सवारी साधन सुचारु गर्ने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले ६ बुँदे सहमतिसहित विगत ४२ दिनदेखि पश्चिम सुर्खेतको चौकुनेसम्म सडक विग्रेको बहाना बनाउँदै यातायात व्यवसायीहरुले सिण्डिकेट लगाएको अवरोध अब हटाउने सहमति भएको छ ।
बैठकमा सात दिन भित्र पश्चिम सुर्खेतको बड्डीचौरदेखि लगामसम्म सडक मर्मत तथा सुधार गरी सार्वजनिक यातायातका सवारी साधन निर्वाध सुचारु गर्ने निर्णय भएको हो । बड्डीचौरदेखि खम्बागाडेसम्म कर्णाली प्रदेशको पूर्वाधार निर्देशनालयले सडक मर्मत तथा सुधार गर्ने, खम्बागाडेदेखि विद्यापुरसम्म सडक डिभिजन कार्यालयले सडक मर्मत तथा सुधार गर्ने र विद्यापुरदेखि बल्लेसम्म मदन भण्डारी राजमार्ग आयोजनाले सडक मर्मत तथा सुधार गर्ने सहमति भएको जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनले प्राविधिकबाट सडकको अवस्था मूल्यांकन गरी यातायात व्यवस्था कार्यालयको समन्वय तथा सहयोगमा गुटुदेखि लगामसम्म र बाबियाचौरदेखि कुइनेसम्म तत्काल अस्थायी रुटपरमिट जारी गर्ने समेत सहमति भएको जनाए ।

उनका अनुसार बैठकले अब सिधै गुटुदेखि कैलालीको कर्णाली चिसापानीसम्म यातायातका सवारी साधन निर्वाधरुपमा सञ्चालन गर्न रुटपरमिटका लागि प्रमुख जिल्लाअधिकारी मार्फत अन्तर जिल्ला समन्वय गर्ने सहमति समेत भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी सापकोटाले सरकारी पक्षका (खासगरी) सडक निर्माणमा रहेका सबै सरोकारवालालाई सात दिनमा कुनैपनि गुनासो नआउने गरी आ–आफ्नो स्तरबाट कार्य गर्न सुझाव दिए । उनले सडक सास्तीकै कारणले अनाहकमा नागरिकले भोग्नु परिरहेको समस्याप्रति सम्बन्धित स्थानीय पालिका, राजनीतिक दल, जनप्रतिनिधि सबैलाई जिम्मेवार बन्न आग्रह गरे ।
‘साझा समस्यामा यो वा त्यो पक्ष अर्थात कुनै एक पक्षको प्रयासले मात्र समाधान नहुने हुँदा सबै पक्षको सहयोग तथा समन्वय आवश्यक भएको हो,’ उनले भने, ‘सबैपक्षको एउटै उद्देश्य नागरिकलाई सहज, सुलभ र भरपर्दो सेवा प्रवाह गर्ने मनसाय रहेकाले दिर्घकालिन समस्या समाधानमा हामी सबै जुट्नु पर्छ ।’ बैठकमा दर्ता विनानै आफुखुशी संयुक्त यातायात नाम दिएर आलोपालो प्रणाली सञ्चालन गर्दै आईरहेका सुर्खेतका यातायात व्यवसायीहरुले अन्ततः सडक सहज भएमा चौकुनेको लगामसम्म आफुहरु सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न तयार रहेको बताएका छन् ।


मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष विष्णुबहादुर खड्काले आफु नेपाली काँग्रेसको जिल्ला उपसभापति समेत रहेकाले पश्चिम सुर्खेतका नागरिक हाम्रापनि जनता भएकाले यातायातका साधन अवरुद्ध हुँदा आफुहरु पनि दुःखित भएको जनाए । ‘हामी मुनाफामुखि व्यवसायसँग जुडेका व्यक्तिहरु भएपनि वर्षातमा सडक सास्तीका कारण यातायातका सवारी साधन चौकुनेसम्म पठाउन नसकिएको हो,’ उनले भने, ‘पैसा कमाउन कसलाई पो रहर हुँदैन र ? सेवा पु¥याउने ईच्छा हुँदाहुँदैपनि सवारी साधन गुड्ने लायकको सडक नहुँदा हैरानी मात्र होइन, जोखिम मोल्न नसकिएको हो ।’
उनले जनप्रतिनिधि तथा सरोकारावालाले समयमै सडक सुधार गर्लान भनेर वर्षात शुरु नहुनु अगाबै सवारी गुड्ने लायक नभएकै कारणले चौकुनेसम्म सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न नसकिने जानकारी गराएको बताए । यसका वावजुद सडक मर्मत र सुधार गर्न तर्फ कुनैपनि सरोकारवाला र जनप्रतिनिधिको ध्यान पुग्न नसकेको उनको भनाइ थियो । ‘व्यक्तिगतरुपमा आफु नेपाली काँग्रेसको एक जिम्मेवार नेताको हैसियतले चौकुनेका आम नागरिकले भोग्नु परेको समस्याप्रति सबैपक्षको कमजोरी देखेको छु,’ उनले भने, ‘कमाउनका लागि करोडौंको लगानी गरेका यातायातका साधन चौकुनेसम्म नलिने कुरै हुँदैन्, । सडक सास्ती भएकै कारणले नाफ भन्दा घाटा बढी हुने हुँदा यातायातका सवारी साधन त्यहाँ पु¥याउन नसकिएको हो ।’ उनले अब पश्चिम सुर्खेतका सबै जिम्मेवार पक्ष सडक मर्मत तथा सुधारमा साथ दिए आफुहरु तत्कालै सार्वजनिक सवारी साधन सुचारु गर्न तयार रहेको जनाए ।

यता चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विकले सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नहुँदा विगत ४२ दिन दिनदेखि चौकुनेका नागरिकले भोग्नु परिरहेको समस्याप्रति पटक–पटक सरोकारवालालाई जानकारी गराउँदा समेत सुनुवाई नहुँदा आफुहरु आरपारको लडाईको मैदानमा उत्त्रेको जिकिर गरे । उनले सदरमुकाम वीरेन्द्रनगरबाट छुट्ने यातायातका सवारी साधनले चौकुनेको लगामसम्म सञ्चालन नआए गाउँपालिका आफ्नै लगानीमा सार्वजनिक यातायात सञ्चालन गर्न तयार रहेको बताए ।
बैठकमा लामो छलफलपछि राजनीतिक दलहरुको मध्यमार्गी भूमिकाले सहमतिमा आएका अध्यक्ष विकले तत्काल जिल्ला स्थित सरोकारवालाले पश्चिम सुर्खेतको सडकको अवस्था, रुटपरमिट तथा नागरिकले हाल भोग्नु परेका समस्यालाई समेत स्थलगत अनुगमन तथा अवलोकन गर्न सुझाव दिए । उनले सबैको साझा सहमतिपछि जिल्ला स्थित यातायात व्यवसायीहरुले चौकुनेको लगामसम्म यातायातका साधन सञ्चालन गरेमा कुनैपनि सडक अवरोध हटाउन तथा सुधार गर्न गाउँपालिका प्रतिवद्ध रहेको जनाए । टिप्परमा यात्रु बोक्नु हुन्न भन्ने थाहा हुँदाहुँदै पनि निर्दोष नागरिकले पाईरहेको दुःखलाई अभिव्यक्त गर्न यातायात व्यवसायीको मनपरीको प्रतिरोधमा उत्त्रिनु परेको उनको भनाइ थियो । यसअघि अध्यक्ष विकले चौकुनेका नागरिकलाई सदरमुकामसम्म पु¥याउँन निःशुल्क टिप्पर सेवा सञ्चालनमा ल्याएका थिए ।


