आँखा पाक्ने संक्रमण बढ्दै

 

सल्यान । सल्यानमा पनि आँखा पाक्ने रोगको संक्रमण फैलिरहेको छ । जसकारण ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन । विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूले बताएका छन् । आँखा उपचार केन्द्र सितलपार्टीकी इन्चार्ज नवीना चौधरीका अनुसार पछिल्लो साता आँखा पाक्ने संक्रमण अनपेक्षित रुपमा फैलिरहेको बताइन् । साता अघिसम्म आँखा उपचार केन्द्रमा दैनिक ४० जना बिरामी आउने गरेकोमा पछिल्लो साता दैनिक एक सयभन्दा बढी आउन थालेको उनको भनाइ छ । उनका अनुसार परीक्षणका लागि आएकामध्ये ८० प्रतिशतको आँखा पाकेको छ । उनका अनुसार उपचार केन्द्र सितलपार्टीमा आइतबार मात्रै १ सय ३ जना महिला, पुरुष तथा बालबालिका उपचारका लागि आएका थिए । आँखा चिलाउने, बिझाउने, सुन्निने , रातो हुने, धमिलो देख्ने लगायत समस्या भएमा आँखा पाकेको हुनसक्ने भन्दै उनले परीक्षण गराएर उपचार गराउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
रोगको प्रकोप बढ्दै गए पनि कुनै बिरामीमा जटिल समस्या नदेखिएको र उपचारका लागि जिल्ला बाहिर पठाउनु नपरेको चौधरीको भनाइ छ । सरुवा रोग भएकाले कालो चस्माको प्रयोग गर्न पनि स्वास्थ्यकर्मीहरूले सुझाव दिने गरेका छन् । यस्तै आँखा रातो भएमा, चिलाउने समस्या देखिएमा, बिझाए जस्तो भएमा सफा र नरम कपडामा चिसो पानी प्रयोग गरेर सफा गर्न सकिने उनीहरूको सुझाव छ । यस वर्ष गर्मी मौसम सुरु भएसँगै देशभरका अधिकांश जिल्लामा आँखा पाक्ने संक्रमण बढ्दो क्रममा रहेको छ । (इकान्तिपुर)

 

Translate »