बाँकेमा करिब ११ लाख मूल्यका अखाद्य बस्तु नष्ट

बाँके । बाँकेमा करिब ११ लाख मूल्यका अखाद्य बस्तु नष्ट गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९र८० मा ५८५ वटा विभिन्न फर्मको अनुगमन गर्दा दश लाख ७४ हजार १० रुपैयाँको खान अयोग्य सामान नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देविलाल चौलागाईले गत वर्ष विगतका वर्ष भन्दा धेरै अखाद्य सामग्री नियन्त्रणमा लिइएको जानकारी दिए । उनले अनुगमनको क्रममा २८१ वटा फर्म र पसल मापदण्ड विपरीत रहेको पाइएकाले कारबाही गरिएको बताए । कार्यालयले गरेको ५८५ फर्मको अनुगमनका क्रममा २६५ वटा पसल र फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । सूचना अधिकारी चौलागाईका अनुसार कार्यालयले फर्म अनुगमनका क्रममा मापदण्ड पालना नगरेको पाइएका फर्मलाई ७ लाख ३५ हजार जरिवाना गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा बाँकेमा ३ वटा वस्तु नमूना परीक्षणका लागि लिइएको थियो भने ४ वटा फर्मको कारोबार रोक्का गरी शिलबन्द गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९/८० मा ४२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा ४२ लाख ६६ हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ जनाएको छ ।
सो अवधिमा ३५ वटा विभिन्न फर्मलाई जरिवाना गरिएको जनाइएको छ । गत आर्थिक वर्षमा ८९७ प्राइभेट फर्म र ३२ साझेदारी फर्म नवीकरण भएका छन् । नवीकरणबाट १२ लाख ३१ हजार ७ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षमा कुल १ हजार ८ सय ८४ वटा फर्मले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँग सम्बन्धित दर्ता, नवीकरण र खारेजीको काम गरेको सो कार्यालयले जनाएको छ । (रेडियो नेपाल)

