कर्णालीमा ‘भाइरल इन्फेक्सन’ : आँखा पाक्ने रोगको रफ्तार बढ्दै
सुर्खेत । कर्णालीका चार जिल्लामा पनि आँखा पाक्ने रोगको संक्रमण तेजीले फैलिरहेको छ । आँखा पाक्ने रोगको चपेटामा दिनप्रतिदिन ठूलो संख्यामा बालबालिका, वयस्कदेखि बृद्धबृद्धा प्रभावित भएका छन । विशेषगरी प्रदेशका शहरी क्षेत्रबाट शुरु भएको रोग संक्रमणको रफ्तार विस्तारै सुदूर ग्रामीण गाउँवस्तीसम्म पुग्न थालेको छ । अहिले प्रदेशका सुर्खेत, सल्यान, जाजरकोट र दैलेख जिल्लामा आँखा पाक्ने रोगबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
सुर्खेत आँखा अस्पतालका (मेडिकल निर्देशक) डाक्टर मनिष खतिवाडाका अनुसार पछिल्लो साता आँखा पाक्ने संक्रमण अनपेक्षित रुपमा फैलिरहेको बताए । साता अघिसम्म आँखा उपचारका लागि दैनिक ५ जना बिरामी आउने गरेकोमा पछिल्लो साता दैनिक ७-८ सयभन्दा बढी आउन थालेको उनको भनाइ छ । उनका अनुसार परीक्षणका लागि आएकामध्ये ८० प्रतिशतको आँखा पाकेको छ । ‘भाइरल इन्फेक्सन’ का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन, सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने निर्देशक डा. खतिवाडाले बताए ।
उनका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, बिजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्न अपरिहार्य हुन्छ । ‘आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ,’ उनले भने, ‘त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधि लगायत विभिन्न सामग्रीबाट रोगको संक्रमण तीव्र रुपमा फैलिने गर्दछ ।’
उनका अनुसार एक आपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन । सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । संक्रमण यसको प्रमुख कारण हो । आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाई घरमा नै आराम गराउन उनले सुझाव दिए ।
अस्पतालका डा. आकांक्षा रानाले भनिन्, ‘संक्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।’ विगतको भन्दा यसपटकको संक्रमण कडा हुनुका साथै आँखा रातो मात्र होइन, परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाई बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि स्थानीय पालिकालगायत थप सचेत र जागरुक बन्नु् बन्न आवश्यक रहेको उनको भनाइ छ ।
रोगको संक्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै उनले भनिन्, ‘भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म संक्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।’ आँखा पाक्ने बिरामीको संख्यामा क्रमिक रुपमा बढेपछि संक्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र अस्पतालमा छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
‘रोगको प्रकोप बढ्दै गएकाले केही बिरामीमा जटिल समस्या देखिएपनि धेरेजसोलाई एक सातादेखि १० दिनभित्रै सञ्चो भएको छ,’ उनले भनिन्, ‘सरुवा रोग भएकाले आँखा रातो भएमा, चिलाउने समस्या देखिएमा, बिझाए जस्तो भएमा सफा र नरम कपडामा चिसो पानी प्रयोग गरेर सफा गर्ने, कालो चस्माको प्रयोग गर्नु पर्दछ ।’ उनले यस वर्ष गर्मी मौसम सुरु भएसँगै आँखा पाक्ने संक्रमण बढ्दो क्रममा रहेको जनाईन् ।
हिमालतिर मौसमी रुघा (फ्लु)
कर्णालीका हिमाल जिल्लाहरुमा मौसम परिवर्तनसँगै मौसमी रुघा (फ्लु) बाट संक्रमित हुनेहरुको संख्या तीव्र बनेको छ । पहिले अस्पतालको ओपीडी कक्षमा दैनिक ५० जनासम्म बिरामी आउने गरेको भएपनि पछिल्ला केही दिनयता दुई सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन् । सामान्यतः वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजनल फ्लुको संक्रमण बढ्ने गरेकाले अहिले जिल्ला अस्पतालमा बिरामी बढेको जिल्ला अस्पताल हुम्लाका मेडिकल सुपरिटेन्डेन्ट डा. कैलाश लामााले बताए ।
दैनिक उच्च ज्वरो आउने, रुघाखोकीे, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने र पेट दुख्ने जस्ता लक्षणसहितका बिरामी आउने गरेको डा लामाले जानकारी दिए । सिजनल फ्लुबाट संक्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ ।
कतिपय बिरामीले चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको भन्दै डा. लामाले भाइरलको संक्रमण हुनासाथ एन्टिबायोटिक सेवन गर्नु उपयुक्त नहुने सुझाव दिए । भाइरलबाट प्रभावित भएको सुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिस गरेर घर फर्काइए पनि कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था रहेको डा. लामाको भनाइ छ ।