२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 25, 2026

३४ घण्टापछि कर्णाली राजमार्ग खुल्यो



जुम्ला । बेपत्ता चालक धन गिरीले न्याय नपाएको भन्दै पीडित पक्षद्वारा बन्द कर्णाली राजमार्ग खुलेको छ । बिहीबार बिहान करिब ४ बजेदेखि अवरुद्ध राजमार्ग शुक्रबार दिउँसो २ बजे, करिब ३४ घण्टापछि राजमार्ग खुलेको हो । खोज उद्दार तथा अनुसन्धानका लागि केन्द्रबाट विज्ञ टोली खटाउन पहल गर्ने, त्यसका लागि आजै पत्र पठाउने, छोराछोरीको पठनपाठनको तथा रोजगारीको व्यवस्थापनमा पहल गर्ने, सर्वोच्चमा मुद्दा प्रक्रिया अघि बढाउने, उच्च सरकारी वकिलले ३ दिनभित्र मुद्दा तयार गरिदिने तथा बेपत्ता गिरीको खोज अनुसन्धानका लागि सबै निकायले सहयोग गर्ने लगायतका सहमतिपछि बन्द कर्णाली राजमार्ग खुलेको पीडित पक्षका अगुवा तुलराज गिरीले बताए ।

श्रीमान् बेपत्ता भएपछि श्रीमती मिना गिरी छोराछोरी लिएर इटहरी गई मजदुरी गरिरहेकी छन् । पीडित पक्षले बेपत्ता धन गिरीको श्रीमतीको रोजगारीको व्यवस्थापन गरिदिन माग राखेका थिए । तत्काल कुनै निकायबाट रोजगारी उपलब्ध गराउने सहमति भएको छ ।

कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले पीडित पक्षको राहत तथा उद्दारका निम्ति व्यक्तिगत हिसाबले पहल गर्ने बताए। डिएसपी प्रल्हाद कार्कीले घटनाको अनुसन्धानका लागि विज्ञ टोली खटाइदिन आजै केन्द्रमा पत्र पठाउने उल्लेख गरे ।

पीडित पक्षका अगुवा तुलराज गिरीले सहमतिपछि सडक बन्द खुलेको जानकारी गराउँदै न्याय नपाए पुन आन्दोलन गर्ने बताए । रेडियो नेपाल

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रबार
Translate »