सरकार भन्दा राज्यको शासकीय स्वरुप नै बद्लौं : डा. बाबुराम भट्टराई

 सुर्खेत ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशको विकास र समृद्धका लागि भ्रष्टाचार अन्त्य गर्ने संकल्पसहित नेताहरु अगाडि बढ्नु पर्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टी कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने संकल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने औल्याए ।

उनले देशमा देखा परिरहने राजनीतिक अस्थिरताको अन्त्यका लागि वर्तमान सरकार भन्दापनि राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

केही प्राविधिक कारणले ढिलाई भएपनि नेपाल बदल्ने संकल्पसहित आफ्नो पार्टीले अन्य पार्टीको विकल्पका रुपमा फरक पहिचानसहित देशभर अभियानलाई तीव्रता दिईरहेको उनको भनाइ छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आईपुगेका डा.भट्टराईले हाल चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका काण्डहरु मात्रै नभई पञ्चायतकालदेखिका प्रकरणलाई उच्चस्तरीय आयोग गठन गरेर निष्पक्ष छानविन गरिनुपर्नेमा जोड दिए ।

उनले ललिता निवास प्रकरणमा आफूले गलत नगरेको र मन्त्रीस्तरिय बैठकबाट केही जग्गा समरजंग कम्पनीमा लैजाने निर्णय भएको सत्य भएकाले दोषी देखिए छानविनमा आफ्नो पूर्ण सहयोग रहने बताए ।

Translate »