साउन मसान्तभित्रै कक्षा १२ को नतिजा आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । बोर्डले  उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको  जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै नतिजा सार्वजनिक गरिने बताए । वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

उनले भने, ‘भदौ नपुग्ने गरी काम गरिरहेका छौं, प्राविधिक समस्या आए कहिलेकाहीं के भन्न सकिन्छ र !’ प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये २ विषयसम्म एनएजी आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । ‘शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिमभित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ,’ उनले भने, ‘त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ बोर्डका सदस्यसचिव अर्यालका अनुसार गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए ।

 

Translate »