हेलिकोप्टरबाट सुत्केरीको उद्दार

हुम्ला  ।  सुत्केरी भएर रक्तअल्पताले थलिएकी खार्पुनाथ(५, खर्पेलगाउँ हुम्लाकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ  ।  साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया दिफकलीको रक्तअल्पतासँगै रगतमा संक्रमण भएर उनलाई प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरे पनि जहाज नआउँदा ५ दिनपछि मंगलबार सेनाको हेलिकोप्टरले उद्दार गरेको हो  ।  उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्दार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल सुर्खेतमा पुर्‍याइएको छ । थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भए पनि पाँच दिनदेखि जहाज नआएपछि सार्कीलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहोराले बताइन्  ।  खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाज उडान नहुँदा हुम्लामा सर्वसाधारणसँगै गम्भीर प्रकृतिका बिरामी थप समस्यामा परेका छन्  ।  सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा चार बालबालिकाले उपचार नपाएरै ज्यान गुमाएका छन्  ।  हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन  ।  यसैबीच, पूर्ववत अवस्थाकै हवाई उडान हुनुपर्ने भन्दै हुम्लाका बासिन्दाले मंगलबार नागरिक उड्डयन प्राधिकरणलाई ४८ घण्टे अल्टिमेटम दिएका छन्  ।  उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारको ध्यानाकर्षण गराउँदै प्राधिकरणलाई साउन १२ गतेको निर्णय फिर्ता लिन अल्टिमेटम दिएका हुन्  । (ईकान्तिपुर)

Translate »