मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट वार्षिक २० हजारको मृत्यु


सुर्खेत । नेपालमा वार्षिक दुई लाख मानिसहरु मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित हुने गरेको पाईएको छ । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार आयोजित प्रदेश अस्पताल सुर्खेतको न्यूरो सर्जरी ईकाईको दोस्रो वार्षिक उत्सव तथा न्यूरोट्रामाको दोस्रो राष्ट्रिय गोष्ठी कार्यक्रममा वार्षिक दुई लाख मानिस मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित हुने गरेका मध्ये जटिल प्रकारका २० प्रतिशत विरामीको मृत्यु हुने गरेको जानकारी गराईएको हो ।

नेपाल न्यूरो सर्जन समाजका केन्द्रीय अध्यक्ष डा. प्रविण श्रेष्ठले अधिकांस मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित हुने मध्ये अधिकांस चोटपटक लागेर हुने गरेको बताए । उनले कर्णाली जस्ता दुर्गममा समेत मापसे सेवन गरेका व्यक्ति दुर्घटनामा परि बढी चोटपटक लागेर मृत्यु समेत हुने जनाए ।
मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट बच्नका लागि देशव्यापी जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो । उनले न्यूरो सर्जरीको गुणस्तरीय र स्रोतसाधन बढी काठमाडौंमै केन्द्रित भएकाले यसलाई सुदूर ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका न्यूरो सर्जरी ईकाई प्रमुख डा. निलम खड्काले गत आर्थिक वर्षमा अस्पतालबाट ४९७ जना मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावितहरुको सफल उपचार गरिएको जानकारी दिए । उनले मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित जटिलखालका विरामीलाई सरकारले एक लाख रुपैयाँसम्म सहुलियत दिने गरेकाले उपचारका लागि प्रदेश अस्पतालको न्यूरो सर्जरी ईकाईमा आउनेहरुको संख्या वर्षेनी बढिरहेको बताए ।

‘कर्णालीमा सवारी दुर्घटनासँगै भिरपाखा, रुखबाट खसेर, मादक पदार्थ सेवन गरी लडेर मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावितहरुको संख्या बढी छ,’ उनले भने, ‘सबै भन्दा बढी जोखिम मापसे, लापेससँगै सवारी दुर्घटनाले मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावितको संख्या न्यूनिकरणका लागि राज्यले कानून बनाएर नियन्त्रण गर्न आवश्यक छ ।’


उनले मापसेले आर्थिकसँगै स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेकाले भारतका गुजरात, विहार जस्ता राज्यमा प्रतिबन्ध गराउन सकिन्छ भने कर्णालीमा समेत लगाउन आवश्यक भईसकेको जनाए ।
जुन अनुपातमा मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित हुनेको संख्या बढिरहेको छ, त्यसअनुपातमा दुर्गममा न्यूरो सर्जरी जनशक्तिको अभाव कायमै रहेको उनको भनाइ थियो । प्रदेश अस्पतालले पछिल्ला दुई वर्षदेखि ओपीडी, ओटी र ईआर न्युरोसर्जरी सेवा सुरु गरेपनि गत फागुनदेखि न्यूरो आईसीयू सेवा दिन थालेको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका (प्रमुख) प्रहरी उपरीक्षक रामप्रकाश शाहले कर्णालीमा ट्राफिक सचेतना कार्यक्रमले गत वर्षहरुको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जनाए ।
प्रदेश अस्पतालका निर्देशक डा.डम्मर खड्काले मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारबाट प्रभावित हुनेको संख्याहरु घटाउन प्रदेश सरकारहरुले सवारीदेखि अन्य दुर्घटनामा कमी ल्याउन व्यापक जनचेतना फैलाउन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा डा. सन्नी थापा, डा. शशी खड्कालगायतले मस्तिष्क, मेरुदण्ड र परिधीय तंत्रिका विकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


