वन कर्मचारीकै मिलेमतोमा काठ तस्कारी

सुर्खेत । सुर्खेतमा पछिल्लो समय वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी व्यापाक मात्रमा हुने गरेको पाईएको छ । वन उपभोक्ता समितिले कानूनी कार्वाहीका लागि एकै दिन दुई स्थानबाट भारी मात्र अबैध काठ बरामद गरि कानूनी कार्वाही अगाडी बढाई दिन आग्रह गरेपछि डिभिजन वन कार्यालयले यसको पुष्ठि गरेको हो ।

आईतबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले आफैले अनुसन्धान गरी अबैध चोरीको काठ वरामद गरेर कानूनी अधिकार पाएको डिभिजन वन कार्यालयका कर्मचारीलाई कार्वाही गर्न अनुरोध गरेपछि तीन जनालाई काठसहित रंगेहात पक्राउ गरि आवश्यक कानूनी कार्वाही अगाडी बढाईएको छ । त्यस्तै जिल्ला सदरमुकाम वीरेन्द्रनगर ल्याउँदै गरेको अवैध काठ स्थानीय सामुदायिक वनका पदाधिकारीले रोक लगाएपछि वापस फिर्ता भएको काठ डिभिजन वन कार्यालयले भेरीगंगाको छिन्चुमा बरामद गरेको हो ।

बरामद काठको आवश्यक छानविन र नापजाँच भईरहेको डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीय सामुदायिक वनका पदाधिकारीले काठ चोरी भएको सूचना डिभिजन वन कार्यालयका डिभिजनल अधिकारी मुनबहादुर रावतलाई खबर गरेपछि उनले कर्मचारी पठाएर छापा हानी संलग्नलाई पक्राउ गरेको नाटक गरी काठ नियन्त्रणमा लिएका छन् । उनले वीरेन्द्रनगर नगरपालिका–११ नम्वरको पदमपुर एवं १२ नम्वर वडाको देउती बज्यै मन्दिर नजिकका फर्निचर उद्योगबाट अबैध काठ बरामद गरी उद्योग नै सिल गरेका हुन् ।

वन कार्यालयले यी स्थानबाट करिव ४९ क्यिूफिट अबैध चिरान काठ बरामद गरी उद्योग सिल गरेको बताएको छ । कानूनीरुपमा बैध काठ पाउन छाडेपछि काठ तस्कर र डिभिजन वनका कर्मचारीको मिलेमितोमा जिल्लाव्यापी अबैध काठको कारोबार बढेको हो । विगत ३ वर्षदेखि डिभिजन वन कार्यालयले उपभोक्तालाई कानूनी तवरले बैध काठ उपलब्ध गराउन छोडेपछि जिल्लाव्यापी अबैध चोरी निकासी बढेको हो । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाईन विस्तारका लागि शिव सामुदायिक वन सुब्बाकुना क्षेत्रमा घाटगद्दी गरिएको काठ वन कर्मचारीकै मिलेमितोमा चोरी गरेर वीरेन्द्रनगरका विभिन्न स्थानबाट वनकै कर्मचारीले बरामद गरेका हुन् ।

सुर्खेतमा काठ चोर र काठ रक्षक सिपाही वीचको मिलेमतोले आम उपभोक्तालाई चिन्ता बढाएको छ । वनका कर्मचारीहरुसँगको मिलेमतोमा अबैध काठ तस्करीको आरोपमा पक्राउ परेकाहरुको नाम समेत डिभिजन वन कार्यालयले सार्वजनिक गर्न चाहेको छैन् । अवैध भनिएको काठ नियन्त्रणमा लिएर थप चेकजाँच र अनुसन्धान शुरु भईरहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न असमर्थ रहेको डिभिजन वन कार्यालयको भनाई छ ।

अबैध काठ चोरी तस्करी नियन्त्रणमा सामुदायिक वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय र प्रहरीको भूमिका प्रभावहिन देखिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई काठ तस्कारलाई पक्राउ गरेर आफुलाई दिएपछि कार्वाही अगाडी बढाउने बताएपछि सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु नाखुस भएका छन् ।

भेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर सिंहले अबैध काठ चोरी तस्करीमा संलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनु पर्नेमा उल्टै आफै पक्राउ गरेर ल्याऊँ भन्ने डिभिजन वन कार्यालयको भनाई आपत्तीजनक रहेको बताए ।

उनले वनको सर्वोपरी रक्षा गर्नुपर्नेमा उल्टै काठ तस्करको संरक्षण गर्दै गर्ने कार्य गलत भएकाले दोषीमाथि सत्यतथ्य छानविन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरे । यता राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले समेत आम उपभोक्तालाई सहज काठको आपूर्ति व्यवस्था मिलाउन नसक्ने  डिभिजन वन कार्यालयको कार्यशैलीप्रति आपत्ती प्रकट गरेको छ ।

Translate »