हिल्सा–सुर्खेत सडक बन्नेमा विश्वस्त रहन प्रधानमन्त्री दाहालको आग्रह


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनदेखि कर्णाली जोड्ने हिल्सा–सुर्खेत सडक यसै पटक निर्माण शुरु गरिनेमा विश्वस्त रहन आग्रह गरेका छन् । आज कर्णाली प्रदेश स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले कर्णाली करिडोर, कर्णाली राजमार्ग भेरी करिडोरलगायतका ठूला सडकलाई प्राथमिकतामा राखेर चीन सरकारको भ्रमणका क्रममा थप प्राथमिक पाउने गरी आफु लाग्ने बताए ।

उनले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रुपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने जनाए । जनयुद्धको नेतृत्व कर्णालीमै बसेर गरेको आफुलाई ताजै रहेको भन्दै उनले कर्णालीको गरिबी र भूगोलका बारेमा आफु जानकार रहेको बताए ।

उनले कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशको समुन्नत विकास नगरि देशको समृद्धि नहुने भएकाले उच्च प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गरे । परिमार्जनसहित संघीय शिक्षा ऐन, सहमतिका आधारमा निजामति ऐन अन्तिम चरणमा पुगिसकेकाले छिट्टै संसदमा प्रस्तुत गरि पारित गर्ने तयारी रहेको उनको भनाइ थियो ।


उनले संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु सरकारको दायित्व भएको बताए ।
कार्यक्रममा कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको वस्तुस्थिती बुझ्नु भएका प्रधानमन्त्री दाहालले कर्णालीको समृद्धिका लागि आफ्नै पालामा केही गरेर देखाउनु हुनेमा आफु विश्वस्त रहेको जिकिर गरे ।
कार्यक्रममा कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए । पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले समेत प्रदेश राजधानी सुर्खेतदेखि चीन सीमा नाकासम्म पुग्ने सडक र हाल रहेका विमानस्थलहरुको स्तरोन्नती गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।


