सिआइबीले पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईसँग बयान लियो

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा विषयमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ । पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालसँग ललिता निवास जग्गा प्रकरणमा विषयमा आज बयान लिएको सिआइबी प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

दुवै पूर्वप्रधानमन्त्रीसँग सिआइबीले घरैमा गएर बयान लिएको थियो । सिआइबी प्रवक्ता अधिकारीका अनुसार ललिता निवास प्रकरणमा सिआइबीले अनुसन्धान प्रतिवेदन आजै बुझाउने तयारी गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै आफ्नो पालामा ललिता निवास प्रकरणमा आफ्नो मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी सीआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको उल्लेख गरे । उनले आफ्नो ट्वीटमा मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउने प्रस्थानविन्दू बन्ने बताए ।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
सर्वोच्च अदाललते ललिता निवास जग्गा प्रकरणमा पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिएको थियो । तर सिआइबीले उनीहरुसँगको बयान बिना नै प्रतिबेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

Translate »