एकीकृत समाजवादी सुर्खेतका अधिकांश नेता एमालेमै फर्किए
सुर्खेत । पार्टी फुटको औचित्य पुष्टि हुन नसकेको भन्दै नेकपा एकीकृत समाजवादी सुर्खेतका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् ।
आज सुर्खेतमा आयोजित एक कार्यक्रमका वीच एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरुलाई अबिर र खादा लगाइदिएर एमालेमा स्वागत गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष मोहन बडुवाल, उपाध्यक्षसहितका सिंगो टिम एमालेमा समायोजन भएको छ । अध्यक्ष बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए ।
नेकपा विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।
पछिल्ला विभिन्न घट्नाक्रमले आगामी दिनमा एकीकृत समाजवादी पार्टी नै नरहने हो की भन्ने आशंका प्रबल बनिरहेका बेला उक्त पार्टीमा रहिरहनुको औचित्य नदेखिएको बडुवालको भनाइ थियो ।