संघीयताको चर्को कुरा गर्नेहरुबाटै संघीयता कमजोर पारिँदैछ : एमाले महासचिव पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीयताको चर्को कुरा गर्नेहरुबाटै संघीयतालाई कमजोर बनाउने काम भईरहेको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग ‘कफी र कुरा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा माओवादी केन्द्र र मधेशबादी दलहरुले नेतृत्व गरेका मन्त्रालयबाट नै संघीयता तल लैजान नखोजेको आरोप लगाए ।
कर्णाली जस्ता भौतिक पूर्वाधार अभावले पछाडी परेका क्षेत्रमा पर्याप्त लगानी गर्न समेत विभेद गरिएको उनको भनाइ थियो । कर्णालीको समृद्धिका लागि नेतृत्वको विकास आवश्यक मात्र होइन, अपरिहार्य रहेको बताए । उनले कर्णालीबाट राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने लायकका नेताको उत्पादनका लागि समेत नेकपा एमालेले कसरत गरिरहेको जनाए । कर्णालीको समृद्धि विना देश समृद्ध हुन नसक्ने उनको ठहर थियो ।
उनले सुशासनको गफ दिनेहरुले नै निष्पक्ष रुपमा काम गर्न नसक्दा देशमा धुप्रै समस्याहरु उत्पन्न भएको जनाए । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी काण्ड जस्ता अन्य ठूलठूला काण्डको सत्यतथ्य छानविन गराउन दवाव स्वरुप संसद अवरुद्ध गर्नु परेको उनको भनाइ थियो ।
उनले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरुको घर–घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा सीआइबीको समेत आलोचना गरे । नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन एजेन्सीहरुको दबाबले अनुसन्धान अघि बढेको उनको भनाइ छ ।