छायानाथ धामको (गाथ) प्रस्थानमा नगरपालिकाबाट बिहिवार सार्वजनिक विदा


सनत हमाल/भदौं ६, मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले विहिवार सार्वजनिक विदा दिएको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै छायानाथ रारा नगरपालिकाले वडा नम्वर–२, चैन गाउमा स्थित प्रसिद्ध छायानाथ मन्दिरबाट हप्ताको लागि गाथ (महादेव विष्णु र बुद्धमुर्ती) विहिवार छायानाथ हिमालमा दर्शनार्थी तथा देउताहरुको दर्शनका लागि लगिने भएकाले सार्वजनिक विदा दिएको हो ।
साउन महिनाको पन्चमीदेखि जनै पूर्णिमासम्म छायानाथमा कर्णाली तथा सुदूरपश्चिमका जिल्लाहरुमा मानिदै आएका विभिन्न देवीदेवताका धामिहरुलाई शुद्ध गर्न तथा गाथको दर्शन गर्न स्थानीयले ल्याउने भएकाले छायानाथ मन्दिरबाट ७ दिनसम्म महादेव विष्णु र बुद्धमुर्ती गाथ ४ हजार ७ सय मिटरको उँचाइमा रहेको छायानाथ धाममा लिइदै आएको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको प्रमुख धामिक स्थलका रुपमा रहेको छायानाथको गाथ छायानाथ धाममा लिने दिन सुरक्षाकर्मी सहित प्रत्यक घरबाट स्थानीयहरु छायानाथ गाथ यात्रामा सहभागि हुने भएकाले सार्वजनिक विदा दिएको नगर उपप्रमुख ऎश्वर्य मल्लले बताए ।
छायानाथ धाममा जनै पूर्णिमासम्म हिन्दुहरुको र पूर्णिमा पछि बौद्ध धर्मालम्विहरुले छायानाथलाई एब्लाङ्ग भगवान भनेर हप्ता दिनसम्म पूजाआजा गर्ने, मेला लगाउने गर्दछन् ।


